तपाईँ सुन्दै हुनुहुन्छः

गोदावरी सडक निर्माण सम्पन्न नहुँदा हैरान स्थानीयवासी

काठमाडौं । ठैबका सुमन महर्जन घरबाट सातदोबाटसम्म आइपुग्दा पटक–पटक मोटरसाइकलबाट लड्नुभएको छ । साँघुरो सडकमा जतासुकै खाल्डाका कारण सवारीसाधन चलाउन कठिन भएको उहाँको अनुभव छ ।

उहाँजस्तै धेरै सवारीचालक दुर्घटनामा पर्ने गरेका उहाँले देख्दै आउनुभएको छ । झण्डै पाँच वर्षदेखि कालोपत्र वा मर्मत नभएको सडकमा यात्रा गर्नु कठिन भइरहेको उहाँले बताउनुभयो । हिउँदमा भन्दा पनि वर्षायाममा यो सडकमा दुर्घटना बढी भइरहेका छन् । खाल्डामा पानी जमेको थाहा नहुँदा दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परिरहेका छन् । उहाँले भन्नुभयो, “हामी दैनिक यो सडक हिँड्ने त दुर्घटनामा पर्छाैँ भने कहिलेकाहीँ आउनेलाई अझै गाह्रो छ ।”

चार वर्ष पहिले सडक विस्तारका लागि ठेक्का सम्झौता भए पनि विभिन्न अवरोधका कारण हात्तीवन–गोदावरी सडक निर्माण हुनसकेको छैन । झण्डै एक लेनको सडक विस्तार गर्ने र सडकमा आवश्यक संरचना निर्माण गर्ने उद्देश्यले ठेक्का सम्झौता भएको थियो । बीस मिटर चौडाइ कायम गर्ने गरी सडक चिह्न लगाए पनि सडकसँगै घर भएका स्थानीयवासीको विरोधका कारण सडक निर्माण अघि बढ्न सकेन । उपत्यकाका अन्य स्थानमा सडक विभागले मर्मतका काम गरिरहे पनि विस्तारका क्रममा रहेका सडकमा गरेको छैन । सडक झनझनै जीर्ण बन्दै जाँदा धुलो र हिलो बढिरहेको छ । सडकमा रहेका खाल्डाका कारण दैनिकजसो दुर्घटना हुने गरेको स्थानीयवासी बताउँछन् ।

ठैबका हरि महर्जन सडकका कारण स्थानीयवासीको जीवन कष्टकर बन्दै गइरहेको बताउनुभयो । यस सडकमा दैनिक दुर्घटना हुँदा कतिको मृत्यु भएको, कति गम्भीर र कतिपय मानिस सामान्य घाइते भइरहेका छन् । सडकमा खाल्डाका कारण मोटरसाइकल लड्ने घटना ठाउँठाउँमा देखिने उहाँले बताउनुभयो । केही महिना पहिले पनि खाल्डाका कारण मोटरसाइकल लडेको थियो । त्यही दिशाबाट आएको ट्याङ्करले हान्दा चालकको घटनास्थलमै मृत्यु भयो । उहाँले भन्नुभयो, “नियमअनुसार ट्याङ्कर चालकका कारण मृत्यु भएको देखिन्छ तर वास्तवमा सडकका कारण मृत्यु भएको हो ।”

सडकमा केही समय पहिले खाल्डा भएका ठाउँमा मात्रै पुर्न ग्राभेल बिच्छ्याइएको थियो । तर सवारी साधनको चाप धेरै रहेको सडकमा त्यो लामो समय टिकेन । सडकको कालोपत्र गर्नु नै समाधान हुनसक्ने उहाँले बताउनुभयो । काठमाडौँ उपत्यकामा अरु स्थानमा स्थानीयवासीले कालोपत्र चाँडो गर्न माग गर्दै विरोध गर्दा त्यहाँ चाँडो काम भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ भने स्थानीयवासीले हुँदै होला भनेर चुप बसेकाले ढिलाइ भएको छ ।”

यो सडकमा काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले सडक निर्माणको काम गरिरहेको छ । आयोजनाले सडकको चौडाइ मापदण्डानुसार खाली हुन नसकेकै कारण निर्माण अघि बढ्न नसकेको जनाएको छ । सडकमा चौडाइको समस्या हरीसिद्धि, ठैबलगायतका पुराना बस्तीमा देखिएको आयोजनाका इञ्जिनीयर लक्ष्मण देवकोटाले बताउनुभयो । यी सडकमा मापदण्ड घटाएर १६ मिटर चौडाइ कायम गर्ने गरी आयोजना, जनप्रतिनिधि र स्थानीयवासीबीच गत वर्ष नै सहमति भएको थियो । स्थानीयवासीले सरकारले घरको मुआब्जा दिँदा २० मिटर नै खाली गर्न सकिने बताएपछि अहिले त्यसका लागि छलफल भइरहेको छ । उहाँले भन्नुभयो, “२० मिटर नै कायम गर्न सकिन्छ भनेर हामी नियमित छलफलमा छौँ ।”

विस्तारका क्रममा रहेको सडकमा कर्मनाशा खोलाबाट हरीसिद्धिसम्म ललितपुर महानगरपालिका पर्छ भने साविक ठैब र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ । महानगरपालिकाको एउटा वडा र नगरपालिकाका दुवै वडाका अध्यक्षले आवश्यक समन्वय गरिरहेको इञ्जिनीयर देवकोटाले बताउनुभयो । निर्माण व्यवसायीले काम गर्न चाहे पनि आफैँले निर्माणस्थल खाली गर्न नसकिएकाले काम अघि नबढेको उहाँले बताउनुभयो । टौखेलबाट गोदावरी सडकमा भने निर्माण भइरहेको छ । उहाँले भन्नुभयो, “साइट उपलब्ध भएका ठाउँमा निर्माण भइरहेको छ, खाली नभएका ठाउँमा एउटा निर्णय भएपछि निर्माणका लागि नै बाटो खुल्नेछ ।”

स्थानीयवासीले घरसँगै जग्गाको समेत मुआब्जा माग गरेर निर्माण अघि बढाउन नदिँदा भौतिक प्रगति कम भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडक मापदण्डभित्र पर्ने १२० घर सर्वाेच्च अदालतको निर्णयका कारण भत्काउन नसकिएको हो ।

सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो । सडक निर्माणको ठेक्का आयोजनाले आशिष सीएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिएको छ । ठेक्का अवधि गत कात्तिकमा सकिएको छ । काठमाडौँ उपत्यकाका अरु सडकमा जस्तै यहाँ पनि स्थानीयवासीको अवरोध नै निर्माण अवरुद्ध हुनुको कारण बनेको छ ।

सरकारले चार वर्ष पहिले उपत्यकामा १० सडक र दुई पुलको विस्तार शुरु गरेको थियो । तीमध्ये अहिलेसम्म कुनै पनि सम्पन्न भइसकेका छैनन् । पहिले घरको मात्रै मुआब्जा माग गरेकामा अहिले स्थानीयवासीले जग्गाको समेत मुआब्जा मागेर निर्माणको काम अघि बढ्न नसकेको हो । सरकारले त्यहाँ रहेका घरटहरा हटाएर काम गर्न खोज्दा स्थानीयवासीले सङ्गठितरूपमा अवरोध गर्दै आएका थिए । लामो समयसम्म पनि सडक निर्माण अघि बढ्न नसकेपछि चावहिल–साँखु, त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा, ढोलाहिटी–लेलेलगायतका सडकमा उपलब्ध चौडाइमा निर्माण अघि बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button