तपाईँ सुन्दै हुनुहुन्छः

गोदावरीको ठैबमा फूल्चोकीको जात्रा मनाइँदै

काठमाडौं । गोदावरी नगरपालिका–१४ स्थित ठैबमा आज रातिदेखि फूल्चोकी जात्रा मनाइँदै छ । ललितपुरमा हरेक जात्रा फागुपूर्णिमाबाट शुरु हुने हुँदा ठैबमा आज द्वितीयाको दिन जात्रा मनाइने भएको छ ।

ललितपुरको मल्लकालीन सोणिमटोलमा ३५० वर्षपूर्व योगेद्रानन्द राजोपाध्याय नाम एक प्रख्यात तान्त्रिक गुरु बस्ने गरेका ठैबको फूल्चोकी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यी तान्त्रिक गुरुका घरमा चुलोचौका सम्हाल्ने दुई चेला थिए । यी चेला गुरुको घरमा खाना पकाउन खटिएका हुँदा सधैँ फूल्चोकी वनमा दाउरा लिन जान्थे । हरेक दिन दाउरा लिन जाने क्रममा एक दिन यिनीहरुले वनमा विभिन्न देवीदेवता बाजागाजाका साथ नाचिरहेका देखे । नाच हेर्दाहेर्दै यी चेलाहरुको समय बित्यो । यिनीहरु रित्तो हात गुरुको घर फर्किए । गुरुले “किन त्यसै आएको” भनी प्रश्न गर्दा उनीहरुले वनमा देखेको कुरा सबै गुरुलाई बताए ।

यी चेलाको कुरा सुनेपछि गुरुले आफ्नो तान्त्रिक विधिबाट देवतालाई कैद गरे । गुरुले तान्त्रिक विधिद्वारा यता ल्याउने क्रममा ठैब प्रवेश गरेपछि कुखुरा बास्यो । यी देवतालाई जलचपा गुठीमा राखियो । देवताहरुले ‘हामी यहाँ बस्न सक्दैनौं’ भनेपछि हरसिद्धितिर लाँदै गर्दा उज्यालो भयो । देवताले फेरि “हामी उज्यालोमा हिँड्न सक्दैनौँ”, भनेपछि हरसिद्धि बसेको किंवदन्ती रहेको छ । यसैले देवताका कारण पनि ठैब र हरसिद्धिका मानिसबीच राम्रो सम्बन्ध रहेको श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार हरसिद्धिका मानिस प्रत्येक वर्ष ठैबको जलचपामा आएर पूजा गर्ने गर्छन् । उहाँले भन्नुभयो, “नेपाल संवत् ६४४ मा ठैब प्राण मल्लको अधिनमा रहेको थियो, ठैब नेवारी भाषाबाट अपभ्रंश भएको शब्द हो, नेवारी भाषामा ठैबलाई ‘थबँु’ भनिन्छ, नेवारी भाषामा अग्लो ठाउँलाई थबँु भनिन्छ ।” ठैबलाई अजेष्टापुर पनि भनिने गरिन्थ्यो । जहिले पनि जित्ने वा अजय हुने स्थान भएकाले यसलाई अजेष्टापुर भनिएको कथन रहेको श्रेष्ठको भनाइ छ । ठैब आउन लगनखेलबाट चार किलोमिटर दूरी पार गर्नुपर्छ ।

नेपाल संवत् ७४४ मा ठैबमा जलचपा गुठीको स्थापना भएको गुठीको ढोकामा कुँदिएको आधारलाई लिन सकिने गुठी कमिटीका अध्यक्ष ६९ वर्षीय लक्ष्मीनारायण श्रेष्ठ बताउनुभयो । उहाँले भन्नुभयो, “यस गुठीमा हरेक महिनाको चतुर्दशीको रातमा चरे पूजा हुन्छ, गाउँमा अनिष्ट नहोस् भनी चरे पूजा गर्ने गरिन्छ, फागुपूर्णिमाको दिन शुरु हुने चोलेचा जात्रा विशेषगरी आज द्वितीयाको दिनभरि मनाउने गरिन्छ, चोलेचा जात्रालाई फूल्चोकी जात्रा पनि भन्ने गरिन्छ, चोलेचा जात्राको दिन निख्खर कालो बोका किनेर ल्याई तान्त्रिक विधिद्वारा यसमा देवताको रुपमा हालिन्छ ।” यो जात्रा स्वस्थानी कथामा पनि आधारित रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

फूल्चोकीमा स्लेस्मान्तक वन रहेको छ । उक्त वनमा माता पार्वती नाचिरहेका बेला महादेवले चोलेचा अर्थात् कालो बोकाको रूप लिएर पार्वतीको चरित्र हेरेको र यसरी पार्वतीको चरित्र महादेवले लुकीलुकी हेरेको हुँदा ठैबमा आज खड्कुलोभरि भात पकाउने गरिन्छ । “भातलाई जङ्गलको डाँडोका रूपमा मानी भातमाथि रुखको हाँगा राखी कालो बोकालाई तान्त्रिक विधिद्वारा कैद गरेर जात्रा अवधिभर यहाँभित्र भुलाउने गरिन्छ”, श्रेष्ठले थप्नुभयो, “बोकारुपी महादेवले पार्वतीलाई छल गरेको कथालाई लिएर दिनभर फूल्चोकीमाईलाई खट्मा राखेर ठैबको टोल घुमाउने गरिन्छ, ठैब गाउँमा रहेका दुई ढोकामध्ये एक ढोकाबाट निकालिएको खट अर्को ढोकामा लगेर लसकुस पूजा गरी माथि लगिन्छ ।” चोलेचा जात्राको अर्थ बोकामा प्राण हालेको महादेव जात्रा उक्त कथाले दर्शाउँछ ।

दिनभरि खटमा फूल्चोकीमाईलाई राखी एक ठाउँबाट अर्को ठाउँमा जात्रा गर्दै जाने क्रममा बेलुका भएपछि कालो बोका (महादेव) त्यहाँबाट अन्तरध्यान भई फूल्चोकी गएर बस्ने कथन ठैबवासीमा रहेको छ । यस जात्राको चार दिन नबित्दै क्षमायाचनाका लागि ठैबवासीले सरकारी पूजा गर्ने चलन पनि रहेको छ । क्षमापूजामा ठैबका नौ थरि भलाद्मी अर्थात् नौ जना मानिस बसेर निर्माण गरेको कमिटीले सरकारी पूजा गर्छ । क्षमापूजाका लागि नगरपालिकाले सानो रकम सहयोग गर्ने गरेको बताइएको छ ।

महादेवलाई तान्त्रिक विधिद्वारा बोकामा तानेर ल्याएको हुँदा गोदावरीको फूल्चोकीमा क्षमापूजा गर्दा बोकाको बलि दिइन्छ । यस दिनमा कसैले बोका चढाउँछु भनी भाकल गरेका छन् भने अन्यले पनि बोका काट्न पाउँछन् । ठैबमा फूल्चोकी जात्रा गरेको दिनमा विसन्देवीको पनि जात्रा गरिन्छ । “विसन्देवीलाई मसानको पीठका रूपमा लिइने गरेको छौँ”, श्रेष्ठले भन्नुभयो, “यस दिन विसन्देवी राखेको खटमा अन्य १३ देवदेवता राखी टोल घुमाउने गरिन्छ, ठैबको फूल्चोकी माध्यामिक विद्यालयको ढोका अगाडिबाट फागु खेलेर सिन्दुर जात्रा गरी फागुपूर्णिमा आजै मनाइन्छ ।” यस जात्रामा गाउँमा रहेका सबै प्रकारको बाजा बजाउन मिल्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button