तपाईँ सुन्दै हुनुहुन्छः

तीन पदाधिकारीद्वारा शपथ

पोखरा । गण्डकी प्रदेश सरकारद्वारा विभिन्न क्षेत्रमा नियुक्त भएका तीन पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्को यही फागुन २२ गते बसेको बैठकबाट नियुक्त भएका ताल विकास प्राधिकरणको कार्यकारी निर्देशकमा अनुप गुरुङ, प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक ऋषिराम पाण्डे र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले आज पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पाण्डे र प्रेस संयोजक न्यौपानेलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।

त्यस्तै ताल विकास प्राधिकरणका कार्यकारी निर्देशक गुरुङलाई प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले शपथग्रहण गराउनुभयो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले नियुक्त पदाधिकारीले प्रदेशको समृद्धि र विकासको लक्ष्य प्राप्तिका लागि इमान्दाररूपमा लाग्नुपर्ने बताउनुभयो ।

जागिरे सोचभन्दा पनि सेवाभावबाट क्रियाशील बन्नुपर्ने बताउँदै उहाँले नतिजा दिने किसिमबाट काम गर्न आग्रह गर्नुभयो । उहाँले ताल विकास प्राधिकरणसँगै पोखरा र आसपासका तालतलैयाको संंरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेशभित्रका ताललाई प्राधिकरणमातहत ल्याउँदै प्रत्येकको शाखा कमिटी निर्माण गरी अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

प्रदेशमा कर्मचारीको दक्षता अभिवृद्धि गर्दै सुशासन र विकासको लक्ष्य प्राप्तिका लागि प्रदेश प्रशिक्षण प्रतिष्ठान उपयोगी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रदेशमा भए/गरेका कामलाई प्रचारप्रसार गरी जनतामाझ पु¥याउन प्रेस संयोजकले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।

उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लम्सालले प्रदेश सरकारले कामलाई व्यवस्थित गर्ने लक्ष्यलाई पूरा गर्न पदाधिकारी नियुक्तिसँगै थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । ताल, पोखरी, कुवाकुण्डको संरक्षण सरकारको प्राथमिकताका साथ अघि बढाएको बताउँदै उहाँले वातावरण संरक्षणसँगै समृद्धि र विकासको लक्ष्य पूरा गर्न प्राधिकरण उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले पदाधिकारी नियुक्तिसँगै सम्बद्ध निकायमा कामले थप गति लिने बताउनुभयो । नवनियुक्त गुरुङ, पाण्डे र न्यौपानेले प्राप्त जिम्मेवारीलाई आत्मसात गर्दै योग्यता, क्षमता र दक्षताले भ्याएसम्म प्रतिबद्ध भएर काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button