तपाईँ सुन्दै हुनुहुन्छः

एक साहसी आमा : जसले चितुवाको मुखबाट छोरी बचाइन् !

तनहुँ । आफैले जन्माएर हुर्काउदै गरेको सन्तान आफ्नै आँखाको अगाडि मृत्युको शिकार हुदाँ एक आमाको मनमा के बित्ला ? सन्तानको बिलौनासहितको चिच्याहट अवस्थाले आमाको दिमागले के सोच्ला ? यस्तो घटना बास्तविक जीवनमा सायदै होलान् वा चलचित्रमा देख्न सकिएला ।

शुक्लागण्डकी नगरपालिका ३ बन्केवाकी इन्दिरा न्यौपानेले यो अवस्था प्रत्यक्ष भोग्नुभयो, आइतबार साँझ आफ्नै घरमा । साँझको झिसमिसे अध्यारो छिप्पीदै थियो, बाथरुमको ढोकामा आधा भित्र र आधा बाहिर भएर एकहातले कान्छी छोरीलाई समाउदै धारा बन्द गर्न लागेकी इन्दिराले हातबाट एक्कासी छोरी कसैले तानेको महशुस गर्नुभयो ।

उहाँले बाहिर हेर्नुभयो–२१ महिने छोरी चितुवाले झुण्ड्यादै जंगल तर्फ लम्किरहेको दृश्य देख्नासाथ रित्तो हुनुभएकी उहाँ चितुवालाई नै झम्टिन कुद्नुभयो । झण्डै ३० मिटर पर खेतसम्म पुगेपछि चितुवालाई भेट्टाएकी इन्दिराले छोरीको खुट्टा समाउन भ्याउनुभयो र चितुवा भाग्यो । “केही सोच्नै सकिन, मलाई जेसुकै होस् भनेर पछिपछि दौडिएँ ।” उहाँले भन्नुभयो । “त्यहाँ खेत छ, खेत खेतै दौडाएँ ।”

चितुवाको आक्रमणबाट छोरी संस्कृितको शरिरका विभिन्न भागमा चोट लागेको छ । चितुवाले चिथोर्दा पेटमा गहिरो चोटसहित खुट्टा र हातमा घाउदेखिएको संस्कृतिका बुवा नारायण न्यौपानेले जानकारी दिनुभयो । उहाँको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

चितुवाको आक्रमणमा पर्ने संस्कृति मात्र होइनन्, जिल्लामा नौ जना बालबालिकाले ज्यान गुमाइसकेका छन् भने छ जना बालबालिका घाइते भएका छन् ।

गत पौष १३ गते आइतबार समेत सोही वडाका २२ महिने बालक रविन नेपालीलाई चितुवाले शिकार बनाएको थियो ।

चितुवा नियन्त्रणका लागि डिभिजन बन कार्यालयले पहल थालेपनि बालबालिका माथि हुने आक्रमण भने रोक्न सकिएको छैन् । झण्डै दुई बर्षको अवधिमा चितुवाको आक्रमण बढ्दै जादाँ नियन्त्रणका लागि थापिएको खोरमा सात चितुवालाई नियन्त्रणमा लिन सकिएको कार्यालय प्रमुख केदार बरालले जानकारी दिनुभयो । उहाँले सचेत रहन र बालबालिकाहरुलाई एक्लै नछोड्न समेत नागरिकहरुलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button