तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरको मणिपाल शिक्षण कलेजमा क्वारेन्टाइन बनाउन अनुगमन

जनकपुरधाम । विश्वव्यापी समस्याको रुपमा देखापरेको कोरोना भाइरसका बिरामीको लागि जनकपुरमा रहेको मणिपाल शिक्षण कलेजको निर्माणाधिन भवनमा क्वारेन्टाइन स्थापनाका लागि आज स्थलगत अनुगमनमा गरिएको छ ।

उक्त स्थानमा एक सय ५० जनासम्म अट्ने क्वारेन्टाईन निर्माण गर्ने गरी व्यवस्थापन गर्न लागेको जनकपुर उपमहानगरपालिकाले जनाएको छ ।

शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखेर मात्र आईसोलेशनमा पठाउने गरी तयारी गरिएको प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

जनकपुर उपमहानगरपालिकाको बस्तिभन्दा टाढा भएको उक्त ठाउँ क्वारेन्टाइनका लागि उपयुक्त भएको तर यसको झ्याल ढोकाको व्यवस्थापन गर्नका लागि कम्तिमा पनि एक साता लाग्ने निर्देशनालयका उपनिर्देशक विजयकुमार झाले जानकारी दिनुभयो ।

जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, महानगर उपप्रमुख रिता कुमारी मिश्र, वडा नंं १३ का वडाध्यक्ष शुभनारायण मण्डल, , प्रादेशिक अस्पतालका चिकित्सकहरुसहित तीन वटै सुरक्षा निकायका जिल्लास्थित अधिकारीहरुले उक्त ठाउँको स्थलगत अनुगमन गनुभएको हो ।

यसैगरी नेपाल भारतको सीमा नाकाबाट आवतजावत गर्नेहरुको कडाईका साथ चेकजाँच गर्ने कार्य भईरहेको पनि जनाइएको छ ।

भारतमा कोरोनाको संक्रमण देखिएका कारण त्यहा रहेका नेपालीहरु फर्किन थालेकाले सीमा नाकामा स्वास्थ्य चेकजाँच कडा बनाइएको प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

महोत्तरी जिल्लाको भिठामोड नाका तथा धनुषाको जटही नाकामा बिहान ६ः०० बजेदेखि राति ९ः०० बजेसम्म यात्रीहरुको स्वास्थ्य परीक्षण गर्ने काम हुँुदै आएको छ भने धनुषाका अन्य केही साना नाकाहरु बन्द गर्ने तयारीमा स्थानीय प्रशासन रहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button