तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट फर्केका तीन जना नेपालीमा उच्च ज्वरो 

बैतडी । भारतमा काम गर्दै आएका बैतडीका तिन जना नेपालीमा उच्च ज्वरो भेटिएको छ । बैतडीको पञ्चेश्वरका ती व्यक्तिहरुलाई कोरोनाका शंकास्पद बिरामी भन्दै एउटा विद्यालयको कोठामा राखिएको छ ।

तिनै जनामा एक सय डिग्री फरेनहाइट भन्दा बढी ज्वरो मापन गरिएकाले उनीहरुलाई कैलपाल आधारभूत बिद्यालयको एक कोठामा राखिएको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहले जानकारी दिनुभयो ।

आइतबार रोलघाटबाट नेपाल आएका पञ्चेश्वर गाउँपालिका ४ का तीनै जनालाई चेकजाँच गर्दा उच्च ज्वरो आएको भेटिएकाले अलग कोठामा राखिएको शाहले जानकारी दिनुभयो ।

भारतबाट आएका तीन जनमध्ये एकजना मुम्बई, एकजना दिल्ली र एक जना हरिद्वारबाट फर्केका हुन ।

तीन जनामा ज्वरो भेटिएकाले सेल्फ क्वारेन्टाइनमा राख्न आग्रह गरेको र सोही बमोजिम एउटा विद्यालयको कोठामा तीनै जनालाई राखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । उनीहरुलाई ज्वरो मात्रै आएको र अन्य लक्षण केही नदेखिएको उहाँले बताउनुभयो ।

तिनै जनालाई ज्वरो देखिएकाले १४ दिनसम्म अलगै राख्नुपर्ने र थप जटिलता आएमा तत्काल जिल्ला अस्पातलमा ल्याइने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताउनुभयो ।

पञ्चेश्वर गाउँपालिकाले केही दिन पहिला घाट बन्द गर्ने निर्णय गरेको भएपनि आइतबार भने गाउँपालिकाकै पहलमा एकै पटक ३३ जनालाई भारतबाट नेपाल आउन अनुमति दिएको थियो ।

भारतबाट फर्केकाहरु तीन दिन सम्म घाट किनारमै रहेकाले दुईघण्टाका लागि घाट खोलेको गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिनुभयो । गाउँपालिका आँफैले गरेको निर्णय कार्यान्वयन नगरेको भन्दै चर्को आलोचना समेत भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button