तपाईँ सुन्दै हुनुहुन्छः

झापामा यस बर्ष चैते धानको खेती बढ्ने अनुमान

झापा । झापामा यस बर्ष चैते धानको खेती बढ्ने कृषि ज्ञान केन्द्र झापाले अनुमान गरेको छ । अघिल्लो बर्षको तुलनामा यस बर्ष जिल्लामा तुलनात्मक रुपमा चैते धानको खेती बढ्ने केन्द्रको अनुमान छ । गतबर्ष जिल्लामा करिब २१ हजार हेक्टरमा चैते धानको खेती गरिएको थियो ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार जिल्लामा अघिल्ला बर्षको तुलनामा यो वर्ष चैत धानको खेती बढ्ने देखिएको छ ।

जिल्लाको कन्काई नहरको सिञ्चित क्षेत्रमा यो सिजनमा धानको बढि खेती हुने गरेको छ भने यो बर्ष भूमिगत सिञ्चाईबाट रोपाई हुँदै आएको क्षेत्रहरुमा पनि विद्युतको समस्या नरहेकाले पनि किसानहरुले केही परिमाणमा यसको खेती बढाउदै लगेको उहाँले जानकारी दिनुभयो ।

यो सिजनमा गरिएको धानले बढि उत्पादन दिनुका साथै बजार समेत राम्रो पाउने भएकाले किसानले यसको खेती बढाउदै लगेका हुन् ।

जिल्लामा कन्काई सिञ्चाई आयोजना क्षेत्रमा बढि यो सिजनमा धानको खेती हँुदै आएको छ । कन्काई नहरको पँहुचमा रहेका शिवसताक्षी, गौरीगञ्ज, गौरादह, तथा कमल गाउँपालिकाका केही स्थानहरुमा चैते धानको खेती अधिक हुने गरेको केन्द्रले जनाएको छ ।

यसैगरी जिल्लाको बनियानी, कचनकवल, झापा गाउँपालिका, बिर्तामोड, बुधबारे ,दमक क्षेत्रमा पनि साना सिञ्चाई तथा भूमिगत सिञ्चाईबाट किसानहरुले धेरथोर मात्रामा खेती हँुदै आएका छन् ।

अघिल्लो बर्ष झापामा एक लाख १७ हजार छ सय मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा अहिले धेरै किसानहरुले हल्दिनाथ एक (बिजी) धानको खेती गर्न बढि रुचाउने गरेका छन् भने यसका अवला चैते २ र चैते ४ जातको धानको पनि खेती हुँदै आएको छ ।

यो सिजनमा गरिएको धान खेतीबाट जिल्लामा प्रति हेक्टर पाँच दशमलब छ मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button