२०७६ साल चैत २६ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

पर्साबाट १६ किलो गाजासहित तीन जना पक्राउ

ध्रुब अधिकारी २०७६ चैत १० गते १५:४१

बीरगंज । पर्सा प्रहरीले १६ किलोग्राम अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पोखरीयाको संयुक्त गस्ती टोलीले आज बिहान पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर ५ बाट बिआई ०५ एफ ६५६६ नम्बरको भारतीय मोटरसाईकलमार्फत भारततर्फ गईरहेको अवस्थामा बहुदरमाई नगरपालिका वडा नम्बर ५ बस्ने ५५ बर्षीय राधाकृष्ण राउत अहिर, ५० बर्षीय लक्ष्मण महतो र पर्सा जिल्ला पकाहामैनपुर गाउपालिका वडा नं. १ धोरे बस्ने ५० बर्षीय मन्द्रिका सहनीको साथबाट अवैध लागुऔषध १८ किलोग्राम गाँजा बरामद गरेको जनाईएको छ ।

बरामद गरिएको गाँजा र मोटरसाईकलसहित अभियुक्तहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

यसैगरी पर्सा प्रहरीले आजै भारतबाट ठुलो परिणाममा भित्र्याईएको अवैध लागुऔषध ओनोरेक्स, नाईट्रोभेटसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरीको टोलीले बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित सडकखण्डमा चेकजाँच गर्दा भारतको रक्सौलबाट बीरगंज तर्फ ना.१ ह. ८९६७ नम्बरको अटो चलाई आउँदै गरेका मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं.६ हटिया निवासी २७ बर्षीय बिजय रोक्कालाई चेकजाँच गर्दा अटोको सिटमुनि लुकाई छिपाई ल्याएको अवस्थामा लागुऔषध ओनोरेक्स ९९ बोतल र नाईट्रोभेट ट्याब्लेट दुई सय ७० पिस बरामद गरेको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो ।

बरामद गरिएको लागुऔषध अटोरिक्सासहित रोक्कालाई थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ ।