तपाईँ सुन्दै हुनुहुन्छः

मंगलसैन बसपार्कमा हेल्थ डेस्क स्थापना, दुई सय जनाको स्वास्थ्य परिक्षण

अछाम । अछाम सदरमुकाम समेत रहेको मंगलसैन बजारको बसपार्क क्षेत्रमा हेल्थ डेस्क स्थापना गरिएको छ । कोरोना भाईरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै बसपार्कमा हेल्थ डेस्क स्थापना गरिएको मंगलसेन नगरपालिकाका नगर प्रमुख पदमबहादुर बोहराले बताउनुभयो ।

हेल्थ डेस्कमा आज बिहान दुई सय जनाको स्वास्थ परिक्षण गरिएको छ । हेल्थ डेस्कमा भारत तथा जिल्ला बाहिरबाट जिल्ला भित्रिएका बिभिन्न व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।

स्वास्थ्य परिक्षणबाट कसैको पनि कोरोना भाईरसको सम्भावित लक्षण नभेटिएको नगरपालिकाका सिनियर अहेब चन्द्र प्रसाद ढुंगानाले बताउनुभयो ।

कोरोना भाईरसबारे जानकारी दिने, बाहिरबाट आउनेको स्वास्थ्य परिक्षण गर्ने, शंका लागेका स्वास्थ्य संस्थामा पठाउने उद्देश्यले हेल्थ डेस्क स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।

अछामका अधिकांश व्यक्ति कामको शिलशिलामा भारतमा रहेका र उनीहरु ठुलो संख्यामा फर्किरहेकाले जिल्लाका अन्य पाँच ठाउँमा समेत हेल्थ डेस्क स्थापना गरिएका छन् ।

मंगलसैन नगरपालिकाको आकस्मिक बैठकले कोरोना भाईरस (कोभिड–१९) फैलिन नदिन बिभिन्न पूर्व तयारी गर्ने, सन्देश प्रवाह गर्ने, जनशक्ति परिचालन गर्ने, कैलाशखोलामा समेत २४ सै घण्टा सञ्चालनमा रहने गरी हेल्थ डेस्क स्थापना गर्ने लगायतका निर्णय गरेको छ ।

हेल्थ डेस्कको व्यवस्थापनको लागि मंगलसेन नगरपालिका स्वास्थ्य शाखालाई जिम्मेवारी दिने र आवश्यक सहयोगका लागि जिल्ला प्रहरी कार्यालय, अछामलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

नगरपालिकाले आजबाट सम्पूर्ण भेला तथा नगरबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेक अन्य सेवा समेत रोक्ने निर्णय गरेको नगरप्रमुख बोहराले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button