तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय जंगलमा अलपत्र परेका सयौँ नेपालीको १२ घण्टापछि उद्धार

नेपालको पश्चिमी सीमा नाका गड्डाचौकी भन्दा करीब ५ किलोमिटर पर भारतीय जंगलमा अलपत्र परेका सयौँ नेपालीहरुको १२ घण्टापछि उद्धार गरिएको छ ।

रोजगारीका लागि भारत गई प्रायः परिवारजन सहित त्यही बसिरहेका नेपालीहरुलाई रोजगारदाता कम्पनीहरुले बिदा गरी घर जान भनेपछि नेपाल फर्किरहेका उनीहरुलाई भारतीय प्रहरीले रोकेपछि गएराति देखि भारतीय जंगलमा अलपत्र परेका थिए । त्यस्तै, भारतका विभिन्न क्षेत्रबाट उपचार गरेर घर फर्किरहेका ५६ जना नेपालीहरुलाई गड्डाचौकी नाकामा रोकिएको थियो ।

केन्द्रमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसी प्राप्त निर्देशन अनुसार उनीहरु सबैलाई नेपाल ल्याएर आवश्यक चेकजाँच गरी लगत लिने काम गरिएको सशस्त्र प्रहरी बल, ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बीर सिंह शाहले जानकारी दिनुभयो ।

करीब चार सय जतिको संख्यामा रहेका उनीहरुको स्वास्थ्य परीक्षण गरी शंकास्पद देखिएमा आइसोलेशन वा क्वारेनटाइनमा राखिने र शंकाष्पद नदेखिएमा सेल्फ क्वारेन्टाइनमा रहन सुझाव दिइएको उहाँको भनाइ छ । देशभर अत्यावश्यक बाहेक निषेधाज्ञा जारी भएकोले यातायातको व्यवस्था गरी गन्तव्यसम्म पठाउने तयारी गरिरहेको शाहले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button