तपाईँ सुन्दै हुनुहुन्छः

भारतलगायत बिभिन्न देशबाट फर्किएका १३ जना होम क्वारेण्टाईनमा

पर्वत । पर्वतको जलजला गाउँपालिकाले भारतलगायत बिभिन्न देशबाट फर्केकाहरुलाई निगरानीमा राखेको छ । गाउँपालिकाले नौ वटै वडाका वडा अध्यक्षलाई त्यस्ता व्यक्तिको सुचना संकलन गर्न र निगरानी बढाउन आग्रह गरेको छ ।

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले विगत १५ दिन यता भारतलगायत बिभिन्न देशबाट फर्किएकालाई निगरानीमा राख्न, सुचना संकलन गर्न थालेको जानकारी दिनुभयो ।

यसैगरी भारतबाट फर्केका जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीवाङका १३ जनालाई बुधबारदेखि होम क्वारेन्टाइनमा राखिएको छ ।

आर्थिक रुपमा बिपन्न परिवारका उनीहरुलाई दुई साताका लागि पुग्ने खाद्यान्न सहयोगसहित होम क्वारेन्टाइनमा राखिएको जलजला गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरिविकास जिसीले जानकारी दिनुभयो ।

उहाँले अन्य बाहिरबाट गाउँ फर्केकाको पनि सुचना संकलन र निगरानी गरिरहेको पनि बताउनुभयो । भारतबाट जलजलाका मात्रै ३५÷४० जनाको समुह नै सँगै आएको भन्ने सुचना पाएपछि खोजी गरिएको जिसीले बताउनुभयो । उहाले गाउँमै पुगेका १३ जनालाई आजदेखि होम क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरिएको बताउनुभयो ।

जलजला गाउँपालिकाका बासिन्दा अहिले सामान्य बिरामी हुँदा समेत कुश्मा, पोखरा, बागलुङ, बेनी अस्पतालमा उपचारका लागि समेत जान गाह्रो भएको भन्दै वडाका स्वास्थ्य चौकीमा आवश्यक बेड र औषधीको ब्यवस्था मिलाएको जनाएको छ ।

सामान्य ज्वरो, रुघाखोकी, टाउको दुःख्ने, टाइफाइड, झाडापखालालगायतका सम्भावित बिरामीहरुलाई मध्यनजर गर्दै अस्पताल जानसमेत समस्या भएको बेलामा उनीहरुलाई वडाकै स्वास्थ्य चौकीमा उपचार गर्ने ब्यवस्था मिलाउन गाउँपालिका लागेको अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो ।

जलजला गाउँपालिकाले सबै वडाका स्वास्थ्य चौकीमा अनिवार्य रुपमा कम्तीमा दुईदेखि चार वटासम्म बेडसहितको बिरामी उपचार कक्ष बनाउने, ज्वरो, रुघाखोकी, टाउको दुःख्ने, टाइफाइड, झाडापखाला लगायत त्यस्ता रोगबिरुद्धका औषधीको प्रर्याप्त मात्रामा ब्यवस्था मिलाउन नौ वटै वडाका वडा अध्यक्षलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button