तपाईँ सुन्दै हुनुहुन्छः

गैर आवासीय नेपाली संघले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ ।

संघका अध्यक्ष कुमार पन्तले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरोेना विरुद्ध जुध्न घोषणा गरेको एक करोड सहयोग रकमबाट सरकारलाई स्वास्थ्य सामग्रीका रूपमा उपलब्ध गराउन लागिएको बताउनुभयो ।

स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण र परीक्षण किट गैरआवासीय नेपाली संघले चीनस्थित नेपाली दूतावासमा उपलब्ध गराउने भएको संघले जनाएको छ ।

गैर आवासीय नेपाली संघले उक्त सामान किन्न एक कार्यदल गठन गरेको छ । बुधवार बिहान बसेको संघको पदाधिकारी बैठकले एनआरएनए चीनको प्रतिनिधी सहितको एक कार्यदल गठन गरेको हो ।

संघका उपाध्यक्ष डा. बद्री केसीले चीनबाट सामग्री संकलन गर्न नेपाल सरकार समक्ष आग्रह गरेको र चीनबाट ल्याउने बन्दोबस्त नेपाल सरकारले गर्ने समझदारी भएको जानकारी दिनुभयो ।

नेपाल सरकारले एक साता भित्र ती सामग्री संकलन गरेर नेपाल भित्राउने तयारी भएको छ ।

गैर आवासीय नेपाली संघले विश्वभर रहेका आफ्ना शाखामार्फत कोरोना पीडित नेपालीको तथ्यांक संकलन गर्ने तयारी समेत गरेको जनाएको छ ।

संघले कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा कोरोनापीडित राहत कोष संकलन समिति, उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति समेत गठन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button