तपाईँ सुन्दै हुनुहुन्छः

खेलाडीहरुबाट कोरोनाविरुद्ध भिडियो सन्देश

काठमाडौं । भारतीय फुटबल स्टार एवं राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्री, अर्जेन्टिनी फरवार्ड लिअनल मेस्सी लगायत स्टारहरुले फिफाले कोरोना भाइरस कोभिड १९ विरुद्ध जनचेतना जगाउन भिडियोमा सन्देश दिएका छन् । विश्वभरका वर्तमान र पूर्व खेलाडी गरी २८ जनाले सन्देश दिएका छन् ।

विश्व फुटबल महासंघ (फिफा) ले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँगको सहकार्यमा कोरोनाबाट बच्नका लागि अभियान चलाउने तयारी गरिरहेको छ । जसमा विश्वका चर्चित वर्तमान र पूर्व खेलाडीहरुलाई प्रयोग गर्न लागिएको छ । कोरोनाको संक्रमणबाट जोगिनका लागि ५ वटा उपाय सो भिडियो सन्देशमार्फत दिइने बताइएको छ ।

भिडियोमा पास द म्यासेज टु किक आउट कोरोना भाइरस भन्ने सन्देश रहेको छ । भिडियोमा डब्लूएचओको मार्गनिर्देश अनुसार हात धुन, खोक्दा सदाचार अपनाउन, अनुहारमा नछुन, शारीरिक दूरी र घरमै बस्न आग्रह गरिएको छ । यस्तो भिडियो सन्देश १३ भाषामा निर्माण गरिने जनाइएको छ । जसमा २८ खेलाडी प्रयोग गरिने बताइएको छ ।

जसमा क्षेत्रीसँगै फुटबलका चर्चित मध्येका एक लियोनल मेस्सी, विश्व कप विजेता फिलिप लाहम, इकर कासिलास र कार्लोस पुयोल प्रयोग हुने बताइएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यो कोरोना भाइरसको महामारी विरुद्धको सन्देश दिनका लागि सुरुवातबाट सक्रिय भएका थिए ।

फिफाले डब्लूएचओको कोभिड १९ विरुद्धको अभियानका लागि १० मिलियन डलर आर्थिक सहयोग गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button