तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालको आईसोलेशनमा ५ जना भर्ना

फाइल तस्बिर

बीरगंज । वीरगंज स्थित नारायणी अस्पतालमा स्थापना गरिएको आईसोलेशन वार्डमा ५ जना विरामी भर्ना भएका छन् । उच्च ज्वरो, रुघाखोकीबाट पिडित ५ जना मध्ये एक जनाको स्याब परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौमा पठाईएको नारायणी अस्पताल कोरोना विभाग प्रमुख डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।

नारायणी अस्पतालको आईसोलेशन वार्डमा पर्साको सखुवाप्रसौनीका–४ देउरवानाका २५ वर्षीय, ३२ वर्षीय र ३९ वर्षीय गरी तीनजना, र उनीहरुसँगै बसोबास गरेका बारा, नौतन–४ का २६ वर्षीय र कलैया–१६ का २३ वर्षीय युवक गरी ५ जना रहेका छन् । कलैयाका युवक भारत, बैंगलोरबाट आएका छन् भने बाँकी सखुवाप्रसौनीका ३ जना कतारबाट काठमाडौं हुँदै वीरगंज आइपुगेका हुन् ।

आज मात्र नारायणी अस्पतालमा उच्च ज्वरो, रुघाखोकीबाट ग्रसित ११ जना भन्दा बढी विरामी उपचारको लागि आएकोमा उनिहरुको स्वास्थ्य परिक्षण गर्दा कोरोनाको संक्रमण नदेखिएपछि फिर्ता पठाईएको डा.सिंहले बताउनुभयो ।

यसैगरी भारत तथा विदेशबाट यात्रा गर्दै वीरगंज आइपुगेका अन्य २० जनालाई वीरगंजको क्वारेन्टाइनमा राखिएको छ ।

यसैगरी नेपाल आयुर्वेदीक अस्पताल र केडिया डेन्टल अस्पतालमा स्थापना गरिएको क्वारेन्टाईनमा २० जनालाई नेपाली सेनाका चिकित्सकहरुको निगरानीमा राखिएको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बताउनुभयो । आईसुलेशन तथा क्वारेन्टाईनमा राखिएका विरामीहरुमा कोरोनाको लक्षण नदेखिएपनि सुरक्षाको हिसावले राखिएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button