२०७६ साल चैत २६ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

फ्रान्स हुँदै कतारबाट आएको जहाजमा रहेका बाँकेका तीन जनालाई क्वारेन्टाइनमा राखियो

नवीन गिरी २०७६ चैत १२ गते १८:१९

नेपालगञ्ज । फ्रान्सबाट कतारको दोहा हुँदै आएको जहाजमा यात्रा गरेका बाँकेका तीन जनालाई प्रहरीले पहिचान गरी क्वारेन्टाइनमा राखेको छ ।

उनीहरुलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएको बाँके प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक शिव बहादुर सिंहले बताउनुभयो ।

उनीहरु तीन जना बाँकेको जानकी गाउँपालिकाको साईगाउँ, बैजनाथ गाउँपालिकाको बनकटुवा र नेपालगञ्ज पिप्रहवाको रहेको प्रहरीले बताएको छ ।

चैत ४ गते आएको जहाजमा रहेकी १९ वर्षीया एक युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उक्त जहाजमा यात्रा गरेका बाँकेका चार जनाको पनि खोजी गर्न पत्र आएपछि प्रहरीले खोजी सुरु गरेको थियो । त्यस उडानबाट आएका चार जना मध्ये एक जना भने बर्दियाका हुन सक्ने प्रबक्ता सिंहले बताउनुभयो ।

उहाँले केन्द्रबाट आएको नाम र नागरिकता नम्बर भिडाउँदा जिल्ला प्रशासन कार्यालय बाँकेमा नाम फेला नपरेपछि बर्दियाको हुन सक्ने आंकलन गरेर खोजी भइरहेको जानकारी दिनुभयो ।