तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा ११८ बेडको क्वारेन्टाइन

पाल्पा। जिल्लाको तिनाउ गाउँपालिकाले दोभान माविको हाताभित्र १० शय्याको अस्थायी क्वारेन्टाइन बनाएको छ । विदेशबाट फर्किएका र कोरोनाको सङ्क्रमितलाई क्वारेन्टाइन बनाइएको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताउनुभयो । उहँले विदेशबाट आएका नागरिकलाई अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गर्न र क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो । क्वारेन्टाइनमा दुई जना स्वास्थ्यकर्मीसहित सुरक्षाकर्मी खटिने छन् ।

क्वारेन्टाइन निर्माणमा गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, प्रवक्ता श्रेष्ठ, अधिकृत यादव अर्याल, स्वास्थ्य क्षेत्रका कर्मचारी र स्थानीय बासिन्दा खट्नुभएको छ । कोरोना भाइरसको जोखिम रहेकाले तत्कालका लागि १० शय्याको क्वारेन्टाइन स्थल निर्माण गरिएको भन्दै गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले अझै बिस्तार गरिने जानकारी दिनुभयो ।

यसैबीच तानसेन, रामपुर, माथागढी, रम्भा, बगनासकाली र रिब्दीकोट गाउँपालिकामा क्वारेन्टाइनका लागि शय्या तयार भएको छ । तानसेन नगरपालिका बर्तुङ्स्थित जनप्रिय माविमा १५ शय्या तयार भएको छ । रामपुरको बालकल्याण प्राविमा २० शय्याको क्वारेन्टाइन तयार भएको छ । जिल्लाकै बगनासकाली गाउँपालिकाको चापपानीस्थित चन्द्र माविमा २० शय्याको क्वारेन्टाइन बनेको छ । माथागढी गाउँपालिका–३ सराईस्थित दिव्यज्योति नमूना माविमा १५, रम्भाको ताहुँस्थित रम्भा माविमा ५० र रिब्दीकोट गाउँपालिकाको कुसुमखोलास्थित सरस्वती माविमा १८ शय्याको क्वारेन्टाइन तयार भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button