तपाईँ सुन्दै हुनुहुन्छः

रसुवाका दुई स्थानमा आइसोलेशन कक्ष

रसुवा।कोरोना भाइरसबाट पर्न सक्ने सम्भावित समस्या समाधान गर्न दुई स्थानमा आइसोलेशन वार्ड सञ्चालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चिकित्सकसहित उत्तरी क्षेत्रको धुञ्चेमा २० शय्या र दक्षिणी भेगको जिबजिबेमा १५ शय्याको आइसोलेशन वार्ड सञ्चालनमा ल्याइएको हो ।

हालसम्म रसुवामा कोरोना भाइरसको लक्षण देखा नपरेको र सम्भावित जोखिमलाई ध्यानमा राख्दै आइसोलेशन कक्षका साथै पाँच वटै गाउँपालिका क्षेत्रमा क्वारेन्टाइनसमेत व्यवस्था गरिसकिएको बताइएको छ ।क्वारेन्टाइन बनाउन सीमावर्ती क्षेत्र टिमुरे, स्याफ्रुबेंसी, थाम्बुचेत, धुञ्चे, कालिकास्थान, पारच्याङ, बेत्रावतीको बोगटीटार र डाँडागाउँसमेतका क्षेत्रमा स्थापना गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयबमोजिम आवश्यक गृहकार्य पूरा भइसकेको सम्बन्धित गाउँपालिकाले बताएका छन् ।

जिल्लाभित्र १७५ भन्दा बढी क्षमताको क्वारेन्टाइन व्यवस्थापन गर्ने लक्ष्यानुरूप टिमुरेबाहेक अन्य स्थानमा सरकारी स्वामित्वका सरकारी एवं विद्यालय भवन प्रयोग हुने र टिमुरेमा भने भाडाको भवन लिने तयारी भइरहेको प्रजिअ भण्डारीले बताउनुभयो ।रसुवाका सबै गाउँपालिकाले विपद् व्यवस्थापन कोष खडा गरिसकेको र आवश्यकतानुरूप परिचालन हुने बताउँदै गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले भने उक्त कोषमा आफ्नो गाउँपालिकाका तर्फबाट रू २० लाख जम्मा गरिसकिएको जानकारी दिनुभयो ।

यस्तै उत्तरगया गाउँपालिका क्षेत्रका बेत्रावती र मैलुङमा हेल्थ डेस्क सञ्चालन भइसकेको र घरबाट बाहिर ननिस्कन गाउँसमाजमा सचेतना जगाइसकिएको उक्त गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले बताउनुभयो ।उता रसुवाको विकट क्षेत्र मानिने नौकुण्ड गाउँपालिकाको यार्सा क्षेत्रमा कोरोना भाइरससम्बन्धी सचेतना गराउने काम सम्पन्न बताउँदै गाउँपालिका अध्यक्ष नुर्पुसाङ्वो घलेले भावी दिनमा यार्सा क्षेत्र सुरक्षित रहने विश्वास व्यक्त गर्नुभयो ।

कालिका गाउँपालिकाका अध्यक्ष सीता पौडेल र आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले पनि जिल्ला विपद् व्यवस्थापन समितिको नीतिनिर्देशनमा रही आआफ्ना क्षेत्रका नागरिकलाई सचेतना जगाउने कार्य भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button