तपाईँ सुन्दै हुनुहुन्छः

सहकारीद्धारा टोलटोलमा दैनिक उपभोग्य वस्तुको घुम्ति सेवा संचालन

कपिलवस्तु । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण अत्यावश्यक दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन स्थानीय स्तरमा घुम्ती सेवा संचालन गरिएको छ ।

कृषि बहुउद्देश्यीय सहकारी संस्थाले वाणगंगा नगरपालिका वडा नं.८ का वडावासीलाई अत्यावश्यक दैनिक उपभोग्य वस्तुको घुम्ती सेवा शुरु गरेको हो ।

सरकारले गरेको लकडाउनका कारण वडावासीलाई दैनिक उपभोग्य बस्तुको अभाव नहोस भन्ने उद्देश्यले घरदैलोमै घुम्ति सेवा संचालन गरिएको वडाध्यक्ष गुणनिधी भुसालले जानकारी दिनुभयो ।

कृषि बहुउद्देश्यीय सहकारी संस्थाद्धारा संचालित सहकारी पसलले चामल, दाल, चिनी, नुन, तेल, तरकारी, आलु लगाएतका अत्यावश्यक उपभोग्य वस्तुको ढुवानी गरी सुलभ मूल्यमा विक्री वितरण गरेको छ । ‘लकडाउन’को समय सिमा लम्बिने संकेत भइरहेका बेला बजारमा दैनिक खाद्य वस्तुको कृतिम अभाव देखाई कालोबजारी हुनसक्ने भन्दै वडाको समन्वयमा सहकारी पसलले सहज रुपमा उपभोग्य वस्तुको विक्री वितरण गर्दै आएको हो ।

वडा अध्यक्ष भुसालका अनुसार ‘वडाबाट ढुवानी खर्च व्यहोर्ने र सहकारी पसलले प्रचलित बजार मूल्यमा विक्री वितरण गर्दा सहकारीमा आवद्ध सदस्य र वडावासी थप सुविधा पाएको’ बताउनुभयो ।

वाणगंगा नगरपालिकाको वडा नं. ८ का ८ वटा टोलहरुमा प्रत्येक दिन एकपटक दैनिक उपभोग्य बस्तुको विक्री वितरण हुदै आएको छ ।
सहकारी पसललले वडाका टोलटोलमा दैनिक उपभोग्य वस्तुको विक्री वितरण गर्दा कालोबजारीको अन्त्य र कोरोना संक्रमणको जोखिम पनि कम हुने स्थानीय चेतनारायण भण्डारीले बताउनुभयो ।

कृषि बहुउद्देश्यीय सहकारी संस्थाका कार्यवाहक अध्यक्ष कृष्ण न्यौपानेले सहकारी पसलले टोलटोलमा पिकअप भ्यान मार्फत दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति गराएको जानकारी दिनुभयो । उहाँले सहकारी पसलमा अझ एक महिना पुग्ने दैनिक खाद्य वस्तुको मौज्दात रहेको जानकारी दिदै घुम्ति सेवाबाट उपभोक्ताले धेरै सुविधा पाएको बताउनुभयो । उपभोक्ताले दैनिक उपभोग्य वस्तुको आवश्यकता परेको खण्डमा फोनमार्फत पनि माग गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button