तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनको तेस्रो दिन : भक्तपुर सुनसान

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनको तेस्रो दिन आज पनि भक्तपुरका चोक तथा बजारहरु सुनसान देखिएका छन् ।

अत्यावश्यक बस्तुका खरिदका लागि बिहान दुई घन्टा र बेलुका दुई घन्टाको समय छुट्याईएको र त्यस समयमा समेत हुल नगरी सामान खरिद गर्न प्रशासनले आग्रह गरेपछि स्थानीयहरु सो समयमा आवश्यक खाद्यान्न सामानहरु किन्ने गर्दछन् ।

आज पनि अत्याश्वयक सवारी साधन र पास भएका सवारी साधन मात्र सडकमा गुडि रहेका छन् भने अन्य सवारी साधन भने चलेका छैनन् ।
लकडाउनको पहिलो दिन केही सर्वसाधारणहरु घर बाहिर हिडडुल गरेपछि जिल्ला सुरक्षा समितिको बैठक बसी थप कडाई गरिएको थियो बजारमा मानिसको चहलपहल बन्द गराउन बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको चोक चोकमा उपस्थिति रहेको छ ।

बिरामी, औषधी तथा खाद्यान्न किनमेल गर्न निस्किएका स्थानीयलाई प्रहरीले केही सहुलियत प्रदान गरेको छ ।एम्बुलेन्स, औषधीको गाडी र संचारकर्मीहरुलाई भने रोक लगाइएको छैन ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुरमा कोरोनाको ब्यवस्थापनमा सरकारले जारी गरेको निर्देशन अनुसार काम भइरहेको बताउनुभयो । उहाँले अत्यावश्यक बस्तुका खरिदका लागि बिहान दुई घण्टा र बेलुका दुई घण्टाको समय छुट्याईएको र त्यस समयमा समेत हुल नगरी स्वास्थ्य संचेतना अपनाएर अत्यावश्यक सामान खरिद गर्न आग्रह गर्नुभयो ।

भक्तपुरका बिभिन्न अस्पतालमा कोरोना संक्रमित देखिएमा तयारी अवस्थामा रहेको समेत उहाँले जानकारी दिँदै यसको ब्यवस्थापनमा सरोकारवाला सबै पक्ष मिलेर लागेको बताउनुभयो । आदेश पालना नगर्नेलाई कानुन बमोजिम कारर्वाही हुने प्र्रजिअ पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button