तपाईँ सुन्दै हुनुहुन्छः

बजारमा ग्यासको अभाव भएपछि आधा सिलिण्डर भरेर बेच्ने निगमको तयारी

भक्तपुर । कोरोना संक्रमण –कोभिड १९)का कारण बजारमा ग्यासको अभाव भएपछि नेपाल आयल निगमले आधा ग्यास भरेर बेच्ने तयारी गरेको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बजारमा ग्यासको अभाव हुन नदिन भारतबाट पहिलेको तुलनामा धेरै ग्यास बुलेट आयात गर्दा पनि अभाव हट्न नसकेपछि आधा ग्यास भरेर बिक्री गर्ने तयारी अघि बढाउन लागिएको बताउनुभयो ।

निगमका अनुसार आधा भरिएको ग्यासको मूल्य उपभोक्ताले छ सय ८७ रुपैया ५० पैसा तिर्नुपर्नेछ । निगम स्रोतका अनुसार, नाकाबन्दीका समयमा पनि निगमले आधा ग्यास भरेर आपूर्ति व्यवस्था सहज बनाउने प्रयास गरेको थियो । सो नियम लागू भए ग्यास उद्योगले १४.२ किलोग्रामको सिलिण्डरमा ७.१ किलो ग्यास भर्नुपर्नेछ ।

आधा सिलिण्डर भरेर पठाउँदा अहिले आयात भइरहेको ग्यासबाटै दोब्बर बढी सिलिण्डरमा भर्न सकिने भएकाले अभाव टर्ने विश्वास निगमले लिएको छ । कोरना संक्रमणसँगै उपभोक्ताले अतिरिक्त ग्यास जम्मा गर्न थालेपछि व्यवस्थापन गर्न असहज भएको निगमले जनाएको छ ।

कोरोना संक्रमण र मुलुक लकडाउनमा गएपनि भारतबाट सहज रुपमा ग्यास आयात भइरहेको थियो । यसै अवधिमा नेपालले एक साताका लागि लकडाउन र छिमेकी मुलुक भारतले तीन साताका लागि लकडाउन गरेपछि राधानी लगायतका स्थानका कतिपय एउटै परिवारले १० वटासम्म सिलिण्डर भरेर राखिका कारण बजारमा ग्यासको अभाव भएको ब्यवसायीहरुको भनाई छ ।

ग्यास थुपार्ने होड चलेपछि ग्यास सर्वसुलभ रुपमा उपलव्ध हुन नसकेको हो । निगमको पछिल्लो तथ्याँक अनुसार, मंगलबार र बुधबार मात्रै ४४ सय टन ग्यास नेपाल भित्रिएको छ । यो एकै दिनमा आएको सबैभन्दा धेरै ग्यास हो ।

ग्यासको समानुपातिक वितरणका लागि आधा सिलिण्डर ग्यास बेच्नुपर्ने बाध्यता आएको बताउँदै निगमका कार्यकारी निर्देशक पौडेल बजारमा ग्यास सहज हुने बित्तिकै पुरानै अवस्थामा पुरा ग्यास बिक्री बितरण गरिने बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button