तपाईँ सुन्दै हुनुहुन्छः

सङ्क्रमित युवतीसँगै जहाजमा आएका क्वारेन्टाइनमा

मेलम्ची। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना सङ्क्रमण देखिएपछि एउटै विमान प्रयोग गरी आएका सिन्धुपाल्चोकाका तीनै जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु यही चैत ४ गते एउटै विमानमा काठमाडौँ आएका थिए ।

मङ्गलबार साउदी एयरवेजमा आएका यात्रुको विवरण सार्वजनिक भएपछि सिन्धुपाल्चोकका तीन जना रहेको खुलेको थियो । एउटै जहाज प्रयोग गरेका जिल्लाका तीनै जनाको विवरण जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । युवती आएको जहाजमा आएका सिन्धुपाल्चोकका तीन जना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लले जानकारी दिनुभयो । उनीहरुमध्ये एक होम क्वारेन्टाइनमा, एक काठमाडौँ जोरपाटीस्थित ह्वाइट गुम्बा र अर्का व्यक्ति स्वयम्भूको नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा रहेको जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङले बताउनुभयो ।

उनीहरुको परिवारलाई समेत होम क्वारेन्टाइनमा बस्न आग्रह गरिसकिएको उहाँको भनाइ छ । यस्तै मेलम्ची नगरपालिका वडा नं ६ तालामाराङकी ३५ वर्षीया युवती दुवईबाट भारत, काठमाडौं हुँदै गाउँ छिरेको सूचना प्राप्त भएपछि तत्काल स्वास्थ्यकर्मीको सम्पर्कमा ल्याउन जिसस संयोजक तामाङले अनुरोध गरेपछि मेलम्ची इलाका प्रहरीको अगुवाइमा हाल चिकित्सकको निगरानीमा रहेको प्रहरी निरीक्षक फलबहादुर तामाङको भनाइ छ ।

मेलम्ची १२ बाँसबारीका दुई युवा भारतबाट घर फर्केर निर्बाध हिंँडडुल गरिरहेकाले तिनलाई समेत नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गर्न लगाउन प्रहरी एकाइ खटाइएको उहाँको भनाइ छ । चौतारास्थित जिल्ला अस्पतालमा दुवईबाट घर फर्केका तीन जनालाई स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमा राखिसकिएको तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button