तपाईँ सुन्दै हुनुहुन्छः

विदेशबाट फर्किएका ६० जना होम क्वारेन्टाईनमा

वालिङ। स्याङजाको वालिङ नगरपालिकाभित्रका विभिन्न वडामा विदेशबाट आएका ६० जना होम क्वारेन्टाइनमा बसेका छन् । कोभिड–१९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर घरमा पुगेर ६० जनालाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“नगरभित्रका १४ वटै वडामा विदेशबाट फर्किएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरिरहेका छौँ”, नगरप्रमुख खाँणले भन्नुभयो, “विदेशबाट फर्किएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न सुझावसहित निगरानी तथा अनुगमन पनि अगाडि बढाएका छौँ ।”विदेशबाट आफ्नो टोलमा कोही आएको खण्डमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न पनि नगर प्रमुख खाँणले टोलवासीलाई आग्रह गर्नुभएको छ ।

वालिङ नगरपालिकाको वडा नं. १मा तीन, २ मा सात, ३ मा दुई, ४ मा एक, ५ मा छ, ६ मा पाँच, ७ मा एक, ८ मा एक, ९ मा दुई, १० मा एक, ११ मा तीन, १२ मा पाँच र १४ मा एकजना विदेशबाट फर्किएकाहरु होम क्वारेन्टाइनमा बसेका नगर प्रमुख खाँणले बताउनुभयो । नगरपालिकाले १४ वटै वडामा पुगेर विदेशबाट फर्केकाको तथ्याङ्क सङ्कलन गरिरहेको छ । स्थानीय टोलवासीले नगरपालिका कार्यालयमा खबर गरेसँगै नगरका विभिन्न वडाका घर घरमा पुगेर विदेशबाट आएकालाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझावसहित आवश्यक परामर्श प्रदान गरिएको उपप्रमुख कल्पना तिवारीले बताउनुभयो । “विदेशबाट आएकालाई १४ दिनसम्म घरमा छुट्टै बस्न लगाएका छौं” उपप्रमुख तिवारीले भन्नुभयो, “ बसे नबसेको नियमित अनुगमन गरिराखेका छौँ ।”

बुधबार साँझसम्ममा नगरभित्रका सबै वडाका टोलका घर घरमा पुगेर विदेशबाट आएका तर १४ दिन पूरा नभएका नागरिकलाई आफू सुरक्षित हुँदै घरपरिवारलाई सुरक्षित राख्न क्वारेन्टाइनमा बस्न सुझाव दिइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । दैनिक आफ्नो तापक्रम मापन गर्नका लागि थर्मोमिटर प्रदान गरिएको छ भने आवश्यक परामर्शसमेत दिइएको छ । नगरका १४ वटै वडामा विदेशबाट आएकाको खोजी गरी अभिलेख राख्ने कार्यलाई निरन्तरता दिइने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button