२०७७ साल असार २९ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुमा पर्याप्त क्वारेन्टाइन, कोरोना सङ्क्रमित युवतीसँगै आएका सोलुखुम्बुका चारजना सम्पर्कमा

सन्तोष राउत २०७६ चैत १३ गते १६:३५

सोलुखुम्बु । बिश्वभरी फैलिरहेको नोबेल केरोना भाइरस (कोभिड १९)को सङ्क्रमणबाट बच्नका लागि सोलुखुम्बुमा पर्याप्त क्वारेन्टाइनको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको सदरमुकाममा मात्र ४० बेडको क्वारेन्टाइन तयार गरिएको छ भने सबै पालिकाले क्वारेन्टाइनको व्यवस्था गरेका छन् ।

सदरमुकाम समेत रहेको सोलुदूधकुण्ड नगरपालिकाले ७४ बेडको सुविधा सम्पन्न क्वारेन्टाइनको व्यवस्था गरेको छ । जसमा सदरमुकाममा रहेको कर्मचारी आवासमा १६ बेड, केरुङ स्वास्थ्य चौकीमा आठ र टाप्टिङमा भर्खरै निर्माण सम्पन्न वाङछु शेर्पा मेमोरियल अस्पतालमा ५० बेडको क्वारेन्टाइन बनाइएको नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमितलाई तत्काल उद्दार गर्नका लागि नगरपालिकाले चार वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ भने १० लाख रुपियाँको उपचार कोष खडा गरेको प्रमुख शेर्पाले बताउनुभयो । स्वास्थ्यकर्मीलाई आवश्यक सामग्रीसहित कार्यस्थलमा खटाइएको उहाँको भनाइ छ ।

त्यस्तैगरी, कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएकी युवतीसँगै कतार एयरवेजको फ्लाइटबाट नेपाल आएका सोलुखुम्बुका चारै जना सम्पर्कमा आएका छन् ।

जसमा सोलुदूधकुण्ड नगरपालिका–९ गोराखानीका मिङमार शेर्पालाई आवशयक चेकजाँच गरी घरमै क्वारेन्टाइनको व्यवस्था गरिएको छ भने पेम्बा शेर्पा, तेन्जिङ, छोम्ग्याल शेर्पा र शान्तबहादुर बि.क. राजधानीमा सम्पर्कमा आएको मेयर शेर्पाले जानकारी दिनुभयो ।

जिल्लाको सबैभन्दा ठूलो गाउँपालिका थुलुङदूधकोशी गाउँपालिकामा पनि प्रत्येक वडामा २० वटाका दरले जम्मा एक सय ८० बेडको क्वारेन्टाइन बनाइएको अध्यक्ष असिम राईले जानकारी दिनुभयो । बिदेशबाट आएकालाई घरमै स्वास्थ्यकर्मी पठाएर चेकजाँच गरी होम क्वारेनटाइनको व्यवस्था गरिएको उहाँको भनाइ छ । जिल्लाभरीमा हालसम्म कसैलाई पनि क्वारेन्टाइनमा राख्नु परेको छैन् ।