तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस (कोभिड-१९) : अछाममा एक बालकसहित तीन जना आईसोलेसनमा

अछाम । अछाममा एक बालकसहित तीन जनालाई आईसोलेसन भर्ना गरिएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भएको आशंकामा उनीहरुलाई आईसोलेशन भर्ना गरिएको हो ।

तीनैजना भारतबाट फर्केका र कोरोना भाईरसको जस्तो लक्षण भएकोले आईसोलेसन भर्ना गरि उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिनुभयो ।

जिल्लाकको बान्नीगढी जयगढ गाउँपालिकाका ७२ बर्षिय पुरुषलाई बयालपाटा अस्पतालको आईसोलेसन र अन्य दुई जनालाई जिल्ला अस्पतालको आईसोलेसन कक्षमा भर्ना गरि उपचार भइरहेको छ ।

अन्य दुई जनामा जिल्लाको ढकारी गाउँपालिकाका एक बालक र मंगलसैन नगरपालिकाका ४२ बर्षिय पुरुष छन् । उनीहरु केही समय पहिले भारतबाट अछाम आएका हुन् ।

बालक आफ्नो आमाबुवासँगै भारतबाट आएका र अन्य दुई पुरुष पनि कामको शिलशिलामा भारतमा रहेका बुझिएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिनुभयो ।

उनीहरुको उपचार भइरहेको र कोरोना भाइस (कोभिड १९) को परिक्षणका लागि स्वाब संकलन गरि काठमाडौं पठाउन समस्या रहेको वयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर बिकास गौचनले बताउनुभयो । उहाँले  स्वाब संकलन गरि पठाउने किट नभएको र माग गर्दा समेत उपलब्ध हुन नसकेको उहाँले बताउनुभयो ।

त्यसैगरी कोरोनाको सम्भावित संक्रमण रोकथामका लागि जिल्लाका स्थानीय तहले पनि तयारी थालेका छन् । हेल्थ डेस्क स्थापना, आईसोलेसन कक्ष स्थापना, जनचेतना जगाउने लगायतका कार्य स्थानीय तहहरुले गरिरहेका छन् ।

त्यस्तै बुधबार क्वारेन्टाईनमा राखिएका भारतबाट फर्केका ५० जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको मंगलसैन नगरपालिकाका सिनियर अहेब चन्द्रप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button