तपाईँ सुन्दै हुनुहुन्छः

कोषमा करिब रु १२ करोड जम्मा, कर्मचारीले पनि तलब दिने

काठमाडौं। सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको छ ।

सरकारले गत सोमबार कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले अहिलेसम्म कोषमा रु ११ करोड ७६ लाख जम्मा भएको जानकारी दिनुभयो । उहाँले कोषमा अझै रु २० करोड आउने क्रममा रहेको बताउनुभयो । सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि सांसद, कर्मचारी, उद्योगीले जम्मा गरिरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिनाबराबरको रकम उक्त कोषमा जम्मा गरिसक्नुभएको छ ।

यसैगरी राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सात दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले पाँच दिनको र राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारीले तीन दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने भएका छन् ।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button