तपाईँ सुन्दै हुनुहुन्छः

फ्रान्सेली नागरिकलाई लिएर फर्कियो कतार एयरवेजको जहाज

काठमाडौं- नेपालमा रहेका फ्रान्सेली नागरिकलाई लिएर कतार एयरवेजको जहाज फर्किएको छ ।कतार एयरवेजको वाइड बडी जहाजले आज बिहान ११ः५० बजेको उडानमा फ्रेन्च नागरिक लिएर फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले तीनजना बालबालिकासहित ३०४ यात्रु लिएर कतार एयरवेजको जहाज फर्किएको राससलाई जानकारी दिनुभयो । कतार एयरवेजको सोही जहाज शनिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी अन्य फ्रेन्च नागरिक लैजानेछ । बिहान ११ः५० बजेको उडान निर्धारण गरिएको विमानस्थलले जनाएको छ ।

युरोपेली सङ्घको आग्रहबमोजिम नेपालका विभिन्न स्थानमा रहेका फ्रान्सेली नागरिकलाई परराष्ट्र मन्त्रालयसँगको समन्वयमा यहाँस्थित दूतावासले आफ्ना नागरिक काठमाडौँमा जम्मा गरी चार्टर्ड उडान गरेर लैजानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार र शनिबार गरी दुई उडानको अनुमति दिएको थियो ।

पोखरा, लुक्लालगायत गन्तव्यबाट फ्रान्सेली नागरिकलाई हवाई उद्धार गरी शुक्रबार काठमाडौँ ल्याइएको थियो । बुद्ध एयर र तारा एयरबाट उनीहरुलाई काठमाडौँ ल्याइएको थियो । लकडाउनका कारण देशका विभिन्न गन्तव्यमा रहेका विदेशीलाई नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा यहाँ रहेका सम्बन्धित मुलुकका दूतावासले उद्धार थालेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button