तपाईँ सुन्दै हुनुहुन्छः

अति विपन्नलाई खाद्यान्न वितरण

सोलुखुम्बु । कोरोना भाइरस सङ्क्रमणको जोखिम रोकथामका लागि सरकारले लकडाउन गरेपछि दैनिक ज्यालामा मजदुरी गर्ने परिवारका लागि सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाले ज्यालादारी गरेर जिविकोपार्जन गर्ने परिवारलाई दैनिक उपभोग्य सामाग्री वितरण गर्ने निर्णय गरेको छ ।

गाउँकार्यपालिका सदस्यको एक महिनाको सेवा सुविधाबाट राहत स्वरुप प्रतिपरिवार एक बोरा चामल, पाँच किलो दाल, एक लिटर तेल र एक प्याकेट नुन वितरण गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

आजै कमाएर आजै छाक टार्नुपर्ने परिवारका लागि सहयोग गर्न लागेको उहाँको भनाइ छ । अतिविपन्न परिवारले वडामा राहतका लागि निवेदन दिनेछन् ।

वडा सदस्यको नेतृत्वमा बन्ने तीन सदस्सीय समितिले ज्यालादारी, विपन्न परिवार यकिन गरी वडाअध्यक्षले राहतका लागि सिफारिस गर्नेछ । लक डाउनको समयमा अति आवश्यक काम बाहेक घरबाट बाहिर निस्कन नपाइने तथा ज्याला मजदुरीमा समेत जान नपाउने भएपछि यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

विदेशबाट आउने व्यक्तिको सूचना दिनेलाई पाँच हजार पुरस्कार
त्यस्तै, गाउँपालिकाले बैदेशिक रोजगारीबाट आएका व्यक्तिबारे जानकारी दिनेलाई पाँच हजार नगद पुरस्कार दिने भएको छ ।

कोरोना सङ्क्रमणको जोखिम बढेकाले बैदेशिक रोजगारीबाट फर्केकाहरुको पहिचान गरी स्वास्थ्य अवस्था बुझ्ने काम भईरहेकाले यो समयमा सहयोग गर्ने व्यक्तिलाई नगद पुरस्कार दिने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

गाउँपालिकाले पाँच लाखको आपतकालीन कोष स्थापना गरी कार्यपालिका सदस्यको समेत एक महिना बराबरको भत्ता समेत सोही कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button