तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस (कोभिड-१९)को संक्रमण न्युनिकरणका लागि बजारमा एक मिटरको दुरी कायम

भक्तपुर । भक्तपुुर नगरपालिकाले तरकारी तथा अन्य बजार लाग्ने स्थानहरूमा टेपले नापेर एक मिटरको दुरी कायम गरेको छ ।

तरकारी र अन्य दैनिक आवश्यकताका सामग्री खरिद गर्न आउने मानिस एक आपसमा निश्चित दुरी कायम नगरी किनमेल गर्दा कोरोना भाइरस (कोभिड -१९) संक्रमणको सम्भावना बढ्ने तथ्यलाई ध्यानमा राखी नगरपालिकाले एक मिटरको दुरीमा चुनले बक्स कोरेको छ । तरकारी किन्न आउने उपभोक्ताले ती बक्सभित्र उभिएर लामबद्ध भई सामान खरिद गर्नुपर्ने नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।

यस्तो गर्दा सामान खरिद गर्न आउने मानिस–मानिसबीच कोरोना भाइरस (कोभिड-१९) संक्रमणको सम्भावना कम हुने र बजार व्यवस्थित पनि हुने नगरपालिकाको बिश्वास छ ।

नगरपालिकाबाट प्राप्त जानकारी अनुसार टौमढी, गःहिटी,नासमना, दत्तात्रय, च्याम्हासिंह, कमलबिनायकमा यसरी बजार व्यवस्थित गरिंदैछ ।

भक्तपुर नगरपालिकाले आजै एक वक्तव्य जारी गरी अत्यावश्यक सामान खरिदको लागि बाहिर निस्कदा तोकिएको स्थानमा अर्को व्यक्तिसँग एक मिटरको दुरी कायम गरी लामबद्ध भई सामान खरिद गर्न आह्वान गरेको छ ।

नगरपालिकाले हरेक दिनको बिहान ५ देखि ८ र साँझ ५ देखि ७ बजेसम्म सामान खरिदको समय निर्धारण गरेको छ ।

सामान खरिदको लागि तोकिएको समयमा अत्यावश्यक परेको अवस्थामा मात्र घर बाहिर निस्कनु पर्छ । नगरपालिकाले तोकेको समय घरबाट सबै बाहिर निस्कने वा सडकमा हिंडडुल गर्न मिल्ने समय होइन भन्दै अत्यावश्यक सामान खरिदको लागि परिवारबाट एक्लै बाहिर आई आवश्यक सामान खरिद गर्ने समय हो बिज्ञप्तिमा भनिएको छ ।

उक्त समयमा पनि परिवारका अरु सदस्य भने घरभित्रै बस्न नगरपालिकाले नगरबासीमा अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button