तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ को प्रादेशिक अस्पतालमा भोलिदेखि कोभिड-१९ को उपचार हुने

जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक अस्पतालले कोरोना भाइरस (कोभिड–१९)संक्रमितको उपचारका लागि चाहिने थर्ड लेयरको पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट(पिपिइ) उपलब्ध गरेको खण्डमा भोलिदेखि सेवा दिनका लागि तयार भएको जनाएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) माहामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रादेशिक अस्पतालले आन्तरिक तयारी पुरा गरिसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. नागेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।

कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रण गर्न लागि नै अस्पतालको सम्पूर्ण वार्डहरुको सेवा बन्द गरेर अहिले आकस्मिक सेवा मात्र सञ्चालन गरेको उहाँले बताउनुभयो ।

उहाँले एक जना पोजेटिभ केस आएको खण्डमा एक दिनमा मात्र थर्ड लेयरको (पिपिइ) दैनिक रुपमा २५ देखि ३० वटा आवश्यक रहेको तर आफूहरसँग अहिले निक्कै कम भएकाले थप सामानहरुको माग गरिएको बताउनुभयो ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न तथा आम जनतालाई सेवा दिनका लागि आफूहरु दृढ भएको यसको तयारी पनि गरेको डा. यादवले बताउनुभयो ।

उहाले जनकपुर नर्सिङ क्याम्पस, पोषण पुनस्र्थापना गृह, ए आइटी सेन्टर, सम्पूर्ण वार्ड तथा अन्य सबै तहका चिकित्सक, पारामेडिक्स, प्रशासनिक कर्मचारीलगायत कार्यालय सहायक तथा स्वीपरहरुको रिजर्भ पुल निर्माण गरिसकेको बताउनुभयो ।

ज्वरो क्लिनिक, इमरजेन्सी आइसोलेसन वार्ड र संभावित कोभिड–१९ आईसीयू सञ्चालन गर्न सबैलाई काम गर्न खटाइसकेको मेसु यादवले बताउनुभयो । सम्भवतः भोलीबाट प्रादेशिक अस्पतालले सेवा शुचारु गर्ने गरि तयारी गरेको छ । भोली यसका लागि आकस्मिक बैठक पनि बोलाएको उहाँले जानकारी दिनुभयो ।

अहिले विभिन्न सञ्चार माध्यममा प्रादेशिक अस्पतालको बारेमा आईरहेको टिका टिप्पणीलाई सहज रुपमा लिएको बताउदै विना हतियारको युद्ध जित्न कठिन हुने भएकाले चिकित्सक तथा पारामेडिकल कर्मचारीका लागि चाहिने सामानको जोहो गरिदिनको लागि संघ तथा प्रदेश सरकारसँग मेडिकल सुपरिटेण्डेन्ट डा. यादवले आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button