तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासनमा सवारी पास लिनेको भीड

फाइल तस्बिर

सुर्खेत  । लकडाउनका कारण जिल्ला प्रशासन कार्यालयमा सवारी पास गराउनेको भीड लाग्न थालेको छ । सरकारले कोरोना भाइरसको महामारी फैलिन नदिन एक साता लकडाउन गरेपछि प्रशासनमा पास लिनेको भीड लागेको हो । लकडाउन, कफ्र्यू, निषेधाज्ञालगायतका बेला अति जरुरी काम विशेषले यात्रा गर्नुपर्ने सर्वसाधारणलाई प्रशासनले सवारी पास उपलब्ध गराउने गर्छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले प्रशासनमा सरकारी कर्मचारी, बिरामी तथा बीचबाटोमा अलपत्र परेकाहरुले पास लिन आउने गरेको बताउनुभयो । लकडाउनले अन्य सेवा बन्द भए पनि पास लिनेको प्रशासनमा दैनिक भीड लाग्ने गरेको छ ।

बर्दिया राजापुर नगरपालिका–६ मनुवाका ईश्वर शाहीले दुई दिनदेखि प्रशासन धाए पनि पास नपाएको बताउनुभयो । “जाजरकोटबाट बर्दिया जानका लागि छ दिनअघि सुर्खेत आएको थिएँ, लकडाउनले यतै रोकिएँ, आज फेरि पासकै लागि आएको छु”, उहाँले भन्नुभयो ।

लकडाउनले यातायात बन्द भएपछि सिकिस्त बिरामीलाई उपचारका लागि लैजान समस्या भएको छ । दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटका ७९ वर्षीय वीरबहादुर महतारालाई किमो चढाउन भरतपुर क्यान्सर अस्पतालमा जानुपर्ने बाध्यता छ ।

चितवनसम्म जाने सवारी पास लिन उहाँका छोरा डम्बरबहादुर लाइनमा बस्नुभएको छ । सरकारले लकडाउन लम्ब्याउने तयारी गरेपछि अन्य दिनभन्दा आज प्रशासनमा पास लिन आउनेको भीड बढेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button