तपाईँ सुन्दै हुनुहुन्छः

पाटन अस्पतालले सातामै गर्यो १०० पिपिइ उत्पादन

काठमाडौँ  । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण बढेसँगै नेपालले विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाएको छ । सीमित स्रोत साधनबीच पनि सङ्कट समाधानका लागि पहल गरिरहेको छ ।

कोभिड–१९ को अत्यावश्यक स्वाथ्यकर्मीलाई आवश्यक सामगं्री व्यवस्थापनका लागि आन्तरिक र अन्तर्राष्ट्रिय जोहो गरिरहेको छ । आज मात्रै चीन सरकारको सहयोगमा १३ हजार केजी मेडिकल सामग्री ल्याइएको छ । चीनको सीमा नाकाबाट पनि औषधिमूलक सामग्री काठमाडौँ आइपुग्ने क्रममा छ । यसरी बाहिरी जोहोसँगै आन्तरिकरूपमा अत्यावश्यक सामग्री व्यवस्थापन भइरहेको छ ।

पाटन अस्पतालले यहाँ कार्यरत चिकित्सकको सुरक्षाका लागि गत सातादेखि आफैँले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) बनाउन थालेकामा अहिलेसम्म झण्डै १०० थान कपडा तयारी गरिसकेको छ । तीमध्ये धेरै प्रयोगसमेत भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अहिले काठमाडौँ उपत्यकादेखि उपत्यका बाहिरका अस्पतालमा समेत आवश्यक सामग्रंीको अभाव रहेको छ । कोभिड–१९ को सङ्क्रमण नेपालभित्र देखिन थालेसँगै निजी अस्पतालले रुघाखोकी लागेका बिरामीलाई समेत उपचार नगरेको गुनासो आइरहँदा यस अस्पतालले भने उपचारका लागि आवश्यक श्ययाको तयारीसँगै आवश्यक सामग्री उत्पादनसमेत शुरु गरेको हो ।

नेपालमा अहिलेसम्म पाँच बिरामीलाई रोग सङ्क्रमण पुष्टि हुँदा विभिन्न अस्पतालमा यी सामग्रीको अभाव भइरहेको छ । त्यो अभावको अवस्था आउन नदिन अस्पतालले भने आफैँ निर्माण शुरु गरेको हो । चीनमा रोगको सङ्क्रमण देखिएपछि नै यहाँ पिपिइ बनाउने योजना बनाइएको अस्पताल निर्देशक विष्णुप्रसाद शर्माले बताउनुभयो ।

चीनमा देखिएसँगै अस्पतालले भोलि नेपालमा पनि सङ्क्रमण देखिन सक्छ भन्ने सोचेर तयारी शुरु गरेको थियो । उहाँले भन्नुभयो, “नेपालमा नै सङ्क्रमित बिरामी देखिएपछि बनाउन शुरु गरिए पनि यसको तयारी पहिले नै गरिएको थियो ।”

अस्पतालले अहिले यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई नै आवश्यक भएकाले पिपिइ बनाउन शुरु गरिएको हो । यस अस्पतालमा अहिले पनि आइसोलेसनमा बिरामी भएकाले तिनलाई उपचारमा संलग्न चिकित्सकले पिपिइ प्रयोग गर्दै आएका छन् । अस्पतालमा पिपिइ बनाउन थालिएको भनेपछि धेरैले अरु अस्पतालका लागि पनि हो ? अस्पतालले बेच्नका लागि बनाएको हो ? भनी सोध्ने गरेको निर्देशक शर्माले बताउनुभयो । भविष्यमा यहाँका बिरामीलाई चाहिनेभन्दा बढी हुँदा अरु अस्पताललाई सहयोग पनि गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको उत्पादनको अवस्था हेर्दा अरुलाई दिन सकिने अवस्था भने आइसकेको छैन ।”

अस्पतालले एक साताको अवधिमा अहिलेसम्म १०० पिपिइ निर्माण गरेको हो । यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने अस्पतालको योजना छ । आवश्यक पर्ने सामग्रीको पहिले नै जोहो गरिरहेको अस्पतालले जनाएको छ ।

यो अस्पताललाई सरकारले कोभिड–१९ को केन्द्र अस्पतालका रूपमा तोकेको छ । अस्पतालले सङ्क्रमित व्यक्तिलाई उसको अवस्थाअनुसार उपचारका लागि तयारी गरेको छ । रुघाखोकी र ज्वरोका कुनै पनि बिरामी अस्पताल पुगेपछि उसलाई छुट्टै राख्ने श्यया ९आइसोलेसन बेड० को व्यवस्था गरिएको छ । यही श्ययामा बिरामीलाई सङ्क्रमण परीक्षण हुने गरेको निर्देशक शर्माले बताउनुभयो । परीक्षणमा पोजेटिभ देखिँदा ती व्यक्तिलाई राख्ने छुट्टै १५ श्यया रहेको छ । बिरामीलाई यी श्ययामा नै उपचार शुरु हुनेछ । यस अस्पतालमा अहिलेसम्म परीक्षण भएका एक जना पनि बिरामीमा सङ्क्रमण देखिएको छैन । उहाँले भन्नुभयो, “कुनै पनि समयमा सङ्क्रमित बिरामी आउन सक्छ भनी हामीले आवश्यक तयारी गरिरहेका छौँ ।”

अस्पतालमा अहिले २० वटा सघन उपचार कक्ष रहेका छन् । कतिपय श्ययामा अहिले अरु रोगका बिरामी रहेका छन् । अरु रोगका बिरामीलाई व्यवस्थापन गर्दै कक्ष आवश्यक पर्दा कोभिड–१९ का गम्भीर खालका बिरामीलाई उपचार गर्ने तयारी भइरहेको छ । उहाँले भन्नुभयो, “सघन कक्षको व्यवस्थापन कसरी गर्ने भनी हामी अहिलेदेखि नै तयारी अवस्थामा छौँ ।”

तत्कालका लागि अस्पतालले गरेको व्यवस्थापन अपर्याप्त नभएको निर्देशक शर्माले बताउनुभयो । भविष्यमा माहामारीकै अवस्था आउँदा अपर्याप्त भए पनि अहिलेको अवस्था पर्याप्त हुने देखिएको छ । ‘हब’ अस्पताल मात्रै नभएर जिल्लामा रहेका अस्पतालले पनि उपचारका लागि तयारी अवस्थामा रहनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सङ्क्रमित बिरामी एक ठाउँबाट अर्को ठाउँमा पु¥याउँदा फैलनसक्ने भएकाले त्यही स्वास्थ्य संस्थाले तयारी गर्न खाँचो छ ।”

अस्पतालमा अहिले छ जना आइसोलेसनमा छन् । ती व्यक्तिलाई परीक्षण गरेर नेगेटिभ देखिएपछि मात्रै घर फर्काइनेछ । कोभिड–१९ फैलन थालेदेखि अहिलेसम्म सङ्क्रण नेगेटिभ देखिएका ३२ जना घर फर्किएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button