तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका एकैघरका पाँच जना क्वारेनटाइनमा, आजै स्वाब परीक्षण गरिदै

सल्यान । सल्यानमा एकै घरका पाँच जनालाई जिल्ला अस्पताल सल्यानको क्वारेन्टाइनमा राखिएको छ ।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ निगालचुला, माझखर्कमा ज्वरो आउने लगाएतका लक्षण देखिएपछि एकै घरका पाँच जनालाई जिल्ला अस्पताल सल्यानको क्वारेन्टाइनमा राखिएको हो ।

भारतको सिम्ला, रुरुमा मजदुरी गरेर गत चैत १० गते घर फर्किएका ३६ बर्षिय पुरुषलाई घर आएपछि ज्वरो आउने, टाउको दुख्ने शुरु भएको थियो ।

उनलाई अधिक ज्वरो नआएपनि निरन्तर सामान्य ज्वरो आइरहेपछि घरमा रहेका २७ बर्षीय श्रीमती, ११ बर्षीय छोरी, ८ बर्षीय र ५ बर्षीय छोरालाई समेत अस्पतालको क्वारेन्टाईनमा राखिएको छ ।

३६ बर्षिय पुरुषमा सामान्य ज्वरो आउने लक्षण भएपनि अन्यमा कुनै समस्या नभएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार वुढाले जानकारी दिनुभयो । ‘सबैको अबस्था सामान्य छ, भारतबाट फर्किएका पुरुषमा मात्रै ज्वरोसँग मिल्दो जुल्दो लक्षण छ’ उहाँले भन्नुभयो ।

उहाँका अनुसारमा ती पुरुषमा कोरोनाको संक्रमण भए नभएको बारेमा पत्ता लगाउन आज स्वाब परीक्षणका लागि कर्णाली प्रदेशबाट टोली आउदैछ ।

प्रदेश सरकारले नमुना संकलन गर्नको लागि टोली आज सल्यान अस्पतालमा पठाउन लागेको छ । परीक्षणका लागि पठाएको नमुनाको रिपोर्ट नआएसम्मको लागि पाँचै जना जिल्ला अस्पतालमा रहेको क्वारेन्टाईनमा बस्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button