तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा लकडाउनले चैती छठ प्रभावित

फाइल तस्बिर

सर्लाही । सर्लाहीमा लकडाउनले चैती छठ प्रभावित हुने भएको छ । प्रत्येक वर्ष चैत्र महिनामा मनाइने छठ यस वर्ष कोराना भाईरस(कोभिड–१९)का कारण प्रभावित हुने भएको हो ।

बेहुली झै सिगारीको जलाशयहरु यस वर्ष खासै प्रभावकारी रुपमा नभएको कविलासी नगरपालिका वडा नं. ५ बस्ने ब्रतालु अनिता साहले बताउनुभयो ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको तेस्रो दिन आज साँझ सर्लाही भरीको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै मनाईने भएको छ ।

यो पर्व सर्लाहीको लालबन्दी, चन्द्रनगर, हरिवन, हरिपुर, कविलासी, गोडैतालगायत् ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ धार्मिक विधिपूर्वक मनाइदै छ ।

सत्य, अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न ईच्छा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा गत बर्षका दिनहरुमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लागे पनि यस वर्ष लकडाउनले प्रभावित हुने भएको छ ।

हिजो खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरेका छन् र राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाएका थिए ।

त्यस्तै आज साँझ गहुँ र चामल ओखल जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकिया जस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिबल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धा्रित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

त्यस्तै भोली उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्नेछन् ।

महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तावास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ ।

यो पर्व लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ ।

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावको रुपमा समेत विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button