तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसबाट विश्वभर ३५ हजार बढीको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ हजार नाघेको छ भने संक्रमितको संख्या ७ लाख ३५ हजार ५ सय नाघेको छ ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार संक्रमितमध्ये १ लाख ५६ ह जार ३ सय ८० जना उपचार पछि निको भएका छन् ।

इटलीमा गत २४ घण्टा कोरोना भाइरसको संक्रमणबाट एकै दिन ७ सय ५६ जनाले ज्यान गुमाएका छन् भने मृत्यु हुनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ । इटलीमा हालसम्म झन्डै ९७ हजार ७ सय जना संक्रमित भएका छन् ।

यसैगरी, स्पेनमा एकै दिन ८ सय १२ जनाले ज्यान गुमाएका छन् । जम्मा ज्यान गुमाउनेको संख्या स्पेनमा ७ हजार ३ सय ४० पुगेको छ ।

एता कोरोना संक्रमणको केन्द्रबिन्दू बनेको अमेरिकामा संक्रमितको संख्या एक लाख ४३ हजार नाघेको छ भने २ हजार ५ सय भन्दा बढीले ज्यान गुमाएका छन् ।

स्वास्थ्य विज्ञहरुले अमेरिकामा २ लाख भन्दा बढी मानिसले भाइरस संक्रमणका कारण ज्यान गुमाउन सक्ने चेतावनी दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दुरी कायम गर्नुपर्ने नियमावधी लाई अप्रिल ३० सम्म लम्ब्याउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button