तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखद्वारा कोरोना परीक्षणको दायरा बढाउन आग्रह

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले उपलब्ध स्वास्थ्य सामग्री तथा उपकरणको समुचित वितरणमार्फत स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न अन्य व्यक्तिको मनोबल उच्च बनाई कोभिड–१९ को परीक्षणको दायरा बढाउन आग्रह गर्नुभएको छ ।

उहाँले आज एक अपिल जारी गर्दै विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको विषम परिस्थितिमा अग्रपङ्क्तिमा रहेर डटिरहनुभएका स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीको उच्च प्रशंसा गर्नुभएको छ । सभामुख सापकोटाले ‘लकडाउन’बाट प्रभावित विभिन्न क्षेत्रका समुदायलाई सम्बोधन गर्दै आर्थिक राहत तथा सहुलियतका कार्यक्रम अघि बढाएकामा प्रशंसा गर्दै दैनिक ज्यालामा निर्भर नागरिकका लागि राहतको उचित प्रबन्ध गर्न जरुरी रहेको उल्लेख गर्नुभएको छ ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सबैले बाह्य क्रियाकलाप बन्दाबन्दी अर्थात लकडाउन गर्नुपर्ने बाध्यता आइपरेको बताउँदै उहाँले यो सङ्क्रमण भयावह हुन नदिन विकल्पहीन रहेको लकडाउनको पालना गरी घरभित्र बस्न, जमघट नगर्न, अत्यावश्यक कामका लागि बाहिर निस्कन परे सुरक्षाका उपाय अपनाउन सबैमा अपिल गर्नुभएको छ । सरकारका तर्फबाट यसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न प्रयास भइरहेको, अत्यावश्यक स्वास्थ्य सामग्रीको प्रबन्ध भइरहेको तथा विभिन्न मित्रराष्ट्रले सहयोग गरिरहेको उल्लेख गर्नुभएको छ । अपिलमा उहाँले देशभित्र र बाहिरबाट प्रतिष्ठान र व्यक्तिगत रूपमा भइरहेका सहयोगको सराहना गर्दै थप सहयोग परिचालनको आह्वान गर्नुभएको छ ।

प्रतिनिधिसभाको गत फागुन २३ गतेको बैठकले कोरोनाविरुद्ध राष्ट्रिय सङ्कल्पका साथ अगाडि बढ्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गरेको अवगत गराउँदै थप पहलकदमीका लागि सङ्घीय संसद् सदैव तयार रहेको बताउनुभएको छ । यो महामारी निश्चय नै लामो समय नरहने तर, यसलाई हाम्रो देशभित्र कति छिटो नियन्त्रण गर्ने भन्ने कुरा हामै्र सामूहिक प्रतिबद्धतामा निर्भर रहने उल्लेख गर्दै उहाँले आत्मानुशासन कायम गर्न र यो महामारीलाई परास्त गर्न आह्वान गर्नुभएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button