तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९ :  विपन्नलाई निःशुल्क तरकारी बाँड्दै भद्रपुरका युवा

भद्रपुर, झापा । नोभल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बेला समस्यामा परेका विपन्न समुदायलाई झापा भद्रपुरका केही युवाले घर घरमै निःशुल्क रुपमा तरकारी बाँड्न थालेका छन् ।

लकडाउनलाई पालना गर्दै भद्रपुर क्षेत्रका अधिकांश नागरिक घरबाहिर निस्किएका छैनन् । यस्तो बेलामा भद्रपुर नगरपालिका वडा नं ६ का केही युवाले जिल्ला प्रशासन कार्यालयको स्वीकृति र स्थानीय नगरपालिकाको सिफारिसमा विभिन्न स्थानबाट तरकारी किनेर भद्रपुर क्षेत्रका विपन्न परिवारलाई बाँड्न थालेका हुन् ।

स्थानीय सञ्जय कामती, धनेश्वर कामती, शिवनारायण मण्डल, रामजी साह, अर्जुन कामती, विष्णु कामतीलगायतका युवा यो सेवकार्यमा लागेका छन् । उनीहरुलाई स्थानीय विभिन्न दाताहरुले सहयोग गरेका छन् ।

फूलकोबी, बन्दाकोबी, भन्टा, लौका, ब्रोकाउली, सिमी, खोर्सानीजस्ता तरकारी मिसाएर तीनकेजीजतिको पोका बनाएर गाडीमा राखी विपन्न गाउँ बस्तीमा पुगेर एक परिवारलाई एक पोकाका दरले तरकारी बाँड्न थालेको सञ्जय कामतीले बताउनुभयो । हिजोदेखि तरकारी बाँड्न थालिएको हो ।

विपन्न र गरिब समुदायलाई प्रत्यक्ष राहत पुग्ने यस कार्यमा सहयोग पुर्याउन कामतीले नगरवासीसँग अनुरोध गर्नुभएको छ ।

यस संकटको घडीमा युवाहरुले गरेको यो सेवा कार्यको प्रशंसा गर्दै भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले सबै युवालहरुले लकडाउनको समयमा सामाजिक दूरी कायम राख्दै समस्यामा परेकाहरुको उद्धारका लागि जुट्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button