तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल सार्ने कार्य रोकियो

डोटी । डोटीबाट प्रतिनिधीसभा सदस्य प्रेम आलेमगरको पहलमा डोटीको दिपायलबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल धनगढी कैलाली सार्ने काम रोकिएको छ ।

सांसद आलेमगरले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेलाई कुनै पनि हालतमा ति कार्यालयहरु नसार्न दबाव दिएपछि हाललाई सो काम स्थगित भएको हो ।

गृह मन्त्रालयबाट कुनै लेखापढी बिना र स्विकृति नै नलिई अगाडी बढाइएको बिषय कार्यान्वयन नहुने गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले रेडियो नेपाललाई बताउनुभयो । उहाँले भभन्नुभयो –“यस विषयमा गृहमन्त्रालयको कुनै लेखापढी र निर्णय भएको छैन, गृहले स्विकृत दिने विषय स्विकृति बिना कसरी कार्यान्वयन हुन्छ र ? हुनै सक्दैन ।”

आफुलाई आएको अनौपचारिक जानकारीका आधारमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराइसकेको र सरकारको कुनै निर्णय नभएको विषयमा पत्राचार कसरी भयो भन्ने विषयमा छानविन हुने समेत गृह सचिव न्यौपानेले बताउनुभयो ।

प्रहरी प्रधान कार्यालय, नक्शाल काठमाडाँैले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रदेश प्रहरी अस्पताल कैलाली सार्न यहि चैत्र १७ गतेको चलानी नं. ३९७ रहेको पत्रमार्फत परिपत्र गरेको थियो ।

ति कार्यालयहरु सुटुक्कै सार्न लागेको आफुले थाहा पाएपछि गृहमन्त्री र गृह सचिवसँग समन्वय गरी उक्त काम रोक्न लगाएको सांसद आलेमगरले बताउनुभयो ।

मुलूक संघीय संरचनामा जाँदा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढीमा तोकिएको थियो भने प्रदेशसभाले यस प्रदेशको स्थायी राजधानी कैलालीकै गोदावरीमा तोकेको छ ।

यद्यपी अहिले पनि प्रदेश राजधानी कैलालीबाटै सञ्चालित छ । साविकको क्षेत्रीय सदरमुकाम डोटीको दिपायलबाट प्रदेश राजधानी सारिएसँगै रहेका यहाँका धेरै जसो सरकारी कार्यालयहरु अन्यत्र सार्ने क्रम चलिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button