तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीद्वारा बिश्वभर रहेका नेपालीको अवस्थाबारे चासो

फाइल तस्बिर

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट संयुक्त राज्य अमेरिकामा एक जना नेपालीको मृत्यु भएको पुष्टि भएको र सयौं संक्रमित भएको सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले अमेरिकास्थित नेपाली राजदूत डा. अर्जुन कार्कीसँग टेलिफोन वार्ता गर्नुहुँदै अमेरिकामा रहेका नेपालीहरुको अवस्था तथा संक्रमितहरुको उपचार लगायतका कार्यमा भइरहेको प्रयासबारे जानकारी लिनुभयो ।

राष्ट्रपति भण्डारीले नेपालीहरुको पहिचान, उपचार र अन्य प्रक्रियामा दूतावासलाई थप सक्रिय हुन आग्रह गर्नु भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।

हाल कोरोना भाइरसको संक्रमणको इपिसेन्टर बन्दै गएको अमेरिकामा नेपालीहरुको अवस्था, राष्ट्रपतिको चासो र दूतावासले यस सम्बन्धमा खेलेको भूमिकाका बारेमा हाम्रा सहकर्मी सन्तोष रेग्मीले अमेरिकास्थित नेपाली राजदूत डा. अर्जुन कार्कीसँग कुराकानी गर्नु भएको छ ।

फाइल तस्बिर

सन्तोष रेग्मीले अमेरिकास्थित नेपाली राजदूत डा. अर्जुन कार्कीसँग गर्नुभएको कुराकानी:

राजदूतज्यू अमेरिका कोरोना भाइरसको संक्रमणको इपिसेन्टर बन्दै गएको देखिएको छ । कस्तो छ अहिले त्यहाँको जनजीवन ?
संसारकै सबैभन्दा बढी कोरोना प्रभावितहरुको देशको रुपमा अमेरिका पर्न थालेको छ । यहाँका स्वास्थ्य विशेषज्ञ र चिकित्सकहरुले एक लाखदेखि तीन लाखसम्म मानिसहरु मर्न सक्छन् भनेर दिएको चेतावनीले नै यहाँको भयावह अवस्थाको अनुमान गर्न सकिन्छ । यद्यपि, अहिले नै सम्पूर्ण रुपमा आत्तिइहाल्नु पर्ने अवस्था देखिंदैन । राज्यका संयन्त्रहरुले बिभिन्न प्रयासहरु गरिरहेका छन् ।

त्यहाँ अहिले जुन एउटा त्रासको वातावरण छ त्यहाँ रहेका नेपालीहरुको अवस्थाचाँहि कस्तो छ अहिले ?
अमेरिकामा सबैभन्दा बढी संक्रमण भएको क्षेत्र भनेको न्यूयोर्क हो । नेपालीहरुको बसोबास पनि न्यूयोर्कमै उल्लेख्य छ । न्यूयोर्कमा धेरै नेपालीहरु संक्रमित भएका छन् । केही परिवारहरु संक्रमित भएर अस्पताल भर्ना भएर भेन्टिलेटरमा बसेर निको भै फर्किएका पनि छन् । अरु राज्यमा भयावह रुपमा संक्रमणदर पनि छैन र धेरै नेपालीहरु संक्रमित भएका पनि छैनन् । न्यूयोर्कको अवस्थाले हामीलाई निकै गम्भीर बनाएको छ । यसले गर्दा नेपाली समुदाय पनि आतंकित भयावहको अवस्थामा बस्नु परेको छ ।

कति नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका होलान् केही अनुमान छ दूतावाससँग ?
हामीले ठूलो संख्यामा नेपालीहरु पनि संक्रमित भएको देखिरहेका छौं । तर अमेरिकामा व्यक्तिगत सूचना र तथ्यांकहरुमा जुन खालको गोपनीयताको प्रणाली छ त्यसले गर्दा ठ्याक्कै कति भनेर भन्न सकिने अवस्था छैन् । कतिपय नेपाली दाजुभाई दिदीबहिनीहरुले आफ्नो पहिचान खुलाउन चाहिरहनु भएको छैन जसले गर्दा यति नै हो भनेर अनुमान गर्न सकिएको छैन त एक जना नेपालीको हालसम्म यहाँ मृत्यु भएको छ । सयौंको संख्यामा नेपालीहरु संक्रमित हुनुभएको यहाँ रहेका नेपाली समुदायका अगुवाहरु तथा हामी दूतावासका अधिकारीहरुको अनुमान छ ।

दूतावासले त्यहाँ रहेका नेपालीहरुसंग कसरी सम्पर्क, सम्वन्ध बनाइरहेको छ ? यहाँहरुले समन्वय कसरी गरिरहनु भएको छ ?
यहाँ रहेका धेरै नेपालीहरुसंग म आफैं पनि सम्पर्कमा छु । त्यसबाहेक ५० वटै राज्यमा रहेका हाम्रा नेपाली दाजुभाई दिदीबहिनीहरुसंग दूतावासले सम्पर्क बढाएको छ । यहाँ रहेका नेपाली समुदायका अगुवाहरुसंग पनि हामी सम्पर्कमा छौं । त्यसका लागि पछिल्लो दिनमा भिडियो कन्फ्रेन्सको माध्यम प्रयोग गरिएको छ । डुबर चालक, ट्याक्सी चालकलगायत फ्रन्टलाइनमा काम गर्ने बढी नेपालीहरु यसबाट संक्रमित हुनु भएको छ । उहाँहरुलाई घरै बस्न सुझाव पनि दिएका छौं । संक्रमतिहरुलाई कसरी सघाउने भन्ने विषयमा पनि छलफल गरिरहेका छौं । खाद्यान्न वितरण, औषधि वितरण लगायतमा पनि समुदायहरुले प्रयास गरिरहनु भएको छ । कतिपय कोरोना भाइरसको संक्रमणबाट प्रभावित नेपालीहरु पनि यसमा जोडिएर आफ्नो अनुभव हामीलाई बताइरहनु भएको छ । त्यस्तै एउटा भिडियो कन्फ्रेन्स हामीले आजै पनि सम्पन्न गरेका छौं । त्यसमा अमेरिकामा रहेका नेपाली डाक्टरहरु, नर्सहरुको संस्था, कानून व्यवसायी, गैरआवासीय नेपाली संघका पदाधिकारी सहभागी भए ।

भिडियो कन्फ्रेन्समार्फत् आज पनि एक जना संक्रमितले संक्रमण र उपचारबारे आफ्नो अनुभव बताउनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकामा रहेका नेपालीहरुको अवस्था, उनीहरुलाई गर्न सकिने सहयोगलगायतका विषयमा चासो राख्नु भएको छ । राष्ट्रपतिको चासोका सम्वन्धमा त्यहाँका नेपाली समुदायका अगुवाहरुको प्रतिक्रिया के छ दूतावासले त्यसलाई कसरी लिएको छ । त्यो चासो पूरा गर्न कसरी अघि बढ्नुहुन्छ तपाईहरु ?
महामहिम राष्ट्रपतिज्ूयबाट नेपालीहरुको अवस्था के छ भनेर चासो र चिन्ता गर्नु भएको छ । मृतकका परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । संक्रमित साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । त्यो उच्च तहबाट चासो राखिएकोमा धेरै साथीहरुले खुशी प्रकट गर्नु भएको अवस्था छ । हामीले दूतावासले हाम्रो न्यूयोर्कको कन्सुलेट र हाम्रो दूतावासको ३ वटै टेलिफोन लाइनहरु २४ अ‍ै घण्टा खुला गर्ने निर्णय गरेका छौं । हामीले अत्यावश्यक कन्सुलर सेवा कार्यालय समयको १० देखि १२ बजेसम्म उपलब्ध गराउने र अन्य समयमा हामीले टेलिफोनबाट परामर्श दिने, संक्रमितहरु र समुदायका अगुवाहरुबीच सम्वन्ध स्थापित गरिदिने र विरामीहरुलाई उपचारको विषयमा अमेरिकामा रहेका नेपाली डाक्टरहरुको फाउण्डेशन, नर्सहरुको संस्था आदिमार्फत् सहयोग गर्न संयोजन गरिरहेका छौं ।

यसबाहेक हामीले नेपाल सरकारका तर्फबाट अमेरिका सरकारलाई एउटा पत्र पठाएका छौं । हाम्रा नागरिक वा नेपाली मूलका नागरिकको परीक्षण, उपचार लगायतका ब्षियमा । अमेरिकाले आफ्नै नागरिक सरह व्यवहार गरिने प्रतिवद्धता पनि जनाएको छ । दूतावास यहाँ रहेका नेपाली र नेपाली मूलका मानिसहरुका लागि निकै संवेदनशील भएरलागि परेका छौं ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button