तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९ को असर : झापामा चाँडै प्रयोग गर्नुपर्ने कच्चा पदार्थमा आधारित उद्योगको संकट बढ्दै

भद्रपुर, झापा । झापामा निकै छोटो र निश्चित समयभित्र प्रशोधन गरिसक्नुपर्ने कच्चा पदार्थमा आधारित उद्योगहरुको संकट चुलिँदै गएको छ ।

विश्वमा महामारीको रुपमा फैलिँदै गएको नोभल कोरोना भाइरस (कोभिड–१९) मुलुकमा भित्रन नदिन र यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको समय लम्बिँदै जाँदा त्यस्ता उद्योगहरुको संकट बढ्दै गएको हो ।

मुख्य रुपमा चिया, भेनियर, प्लाइउड, सिमेन्ट र खाद्य उद्योगहरु संकटमा परेका छन् ।

त्यस्ता उद्योगमा ठूलो परिमाणमा कच्चा पदार्थ काम नलाग्ने अवस्थामा पुग्न थालेको र अर्बौं रुपैयाँ नोक्सानी उद्योगीहरुले व्यहोरिरहेको झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकालले जानकारी दिनुभयो । उहाँले यस्ता उद्योगको समस्या समाधानका लागि विकल्प खोज्न आवश्यक देखिएको बताउनुभयो ।

लकडाउनको समयमा सबै मजदूर र कर्मचारीले लकडाउनपालना गरिरहेकोले उद्योगहरु सञ्चालन हुन सकेका छैनन् ।

यस्ता उद्योगका सञ्चालकहरुले लकडाउनको समयमा निश्चित सामाजिक दूरी कायम राख्दै थोरै जनशक्तिबाट उद्योग चलाउने वातावरण तयार गरिदिन सरकारसँग आग्रह गरेका छन् ।

उद्योगीहरुले लकडाउनको समयदेखि कम्तीमा तीन महिनाको बैंकको ब्याज मिनाहा, विद्युत महसूलको डिमाण्ड चार्ज छुट, नियमित कामदारलाई निःशुल्क खानाको व्यवस्था, उद्योग बन्द अवधिभरको कामदारको पारिश्रमिक सरकारले व्यहोर्ने व्यवस्था गरिदिन माग गरेका छन् ।

झापामा ३२ वटा चिया प्रशोधन कारखाना, चिया बगान ६० र साना चिया किसानका झण्डै एक सय ८० चिया बगान रहेका छन् भने ३६ वटा भेनियर, १४ वटा प्लाइउड र ७ वटा सिमेन्ट उद्योग रहेका छन् ।

यस्तै, डेढ दर्जन चामल उद्योग र एउटा चाउचाउ उद्योग रहेको संघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button