तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४८ हजार तीन सय हाराहारी पुग्यो, संक्रमितको संख्या नौ लाख ५२ हजार नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ हजार तीन सय हाराहारी पुगेको छ भने संक्रमितको संख्या नौ लाख ५२ हजार नाघेको छ ।

यसैबीच गत २४ घण्टामा कोरोना संक्रमणबाट स्पेनमा नौ सय ५० जनाले ज्यान गुमाएको खबर छ । यो सँगै संक्रमणबाट स्पेनमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ ।

कोरोनाको केन्द्रबिन्दु बनेको अमेरिकामा संक्रमितको संख्या दुई लाख १६ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पाँच हजार एक सय नाघेको छ । यसैगरी, इटलीमा १३ हजार एक सयभन्दा बढीले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

कोरोना संक्रमितको संख्या बढेसँगै भारतमा रेल र रंगशालाई आइशोलेसन कक्षमा परिणत गर्न थालिएको छ । भारतमा कोरोना संक्रमितको संख्या दुई हजार ३२ पुग्दा मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

यसैगरी, पाकिस्तानमा कोरोना संक्रमितको संख्या दुई हजार तीन सय नजिक पुग्दा ३१ संक्रमणबाट ज्यान गुमाएका छन् ।

अफगानिस्तानमा कोरोना संक्रमितको संख्या दुई सय ३९ पुग्दा चार जनाले ज्यान गुमाएका छन् ।

श्रीलंकामा संक्रमितको संख्या एकसय ४८ पुगेको छ भने संक्रमणबाट तीन जनाले ज्यान गुमाएका छन् ।

बंगलादेशमा संक्रमितको संख्या ५६ पुग्दा छ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

माल्दिभ्समा हालसम्म १९ जना संक्रमित भेटिएका छन् भने भुटानमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्वभर कोरोना भाइरसको संत्रास फैलिरहदा उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरस संक्रमण नभएको दाबी गरेको छ ।

यसैबीच, चीनको सेन्जेन सहरले कुकुर र बिरालोको मासुमा प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button