तपाईँ सुन्दै हुनुहुन्छः

राहत वितरणमा कैलालीका स्थानीय तह

घोडाघोडी ।  लकडाउनका कारण दैनिक ज्याला मजदूरी गर्न नपाएर समस्यामा परेका परिवारलाई राहत दिन यतिबेला कैलालीका स्थानीय तहहरू आआफ्नै योजना बनाएर अघि बढिरहेका छन् । केही स्थानीय तहले लगत सङ्कलन गरी राहत वितरण गरिसकेका छन् भने केही लगत सङ्कलनमा जुटेका छन् ।

लकडाउनका समयमा मजदूरी गरेर बिहानबेलुकाको छाक टार्ने मजदूर वर्गलार्ई समस्या परेका र कतिपय श्रमिकको घरको चुल्हो नबल्ने स्थिति आएकाले आफूहरूले नगरपालिकाका करीब छ हजार पाँच सय विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने गरी तयारी थालेको लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईँले जानकारी दिनुभयो ।
नगर प्रमुख बजगाईँले वडाबाट लगत संकलन भई आउने काम अन्तिम चरणमा रहेको र आजदेखि खाद्यान्न वितरण गर्ने तयारीमा लागिरहेको बताउनुभयो । उहाँले खाद्यान्न वितरणका लागि नगरले अवस्था हेरेर रु एक करोडसम्म खर्च गर्ने गरी स्थानीय तह अघि बढेको बताउनुभयो ।

कैलालीको गौरीगंगा नगरपालिकाले भने खाद्यान्न वितरण गरिसकेको छ । नगरपालिकाले आफ्नो नगरपालिकाभित्र रहेका ११ वडाका करीब ३०० परिवारलाई खाद्यान्न वितरण गरिसकेको नगरपालिका प्रमुख भीमबहादुर देउवाले जानकारी दिनुभयो । नगरपालिकाले लगत सङ्कलन भइआएका विपन्न परिवारलाई प्रतिपरिवार चामल, दाल, तेल, नुन र आलु वितरण गरिएको र लकडाउन बढ्ने स्थिति आए थप व्यवस्था गर्ने गरी अघि बढेको नगर प्रमुख देउवाले बताउनुभयो ।

कैलालीकै अर्को स्थानीय तह गोदावरी नगरपालिका भने कार्यविधि बनाएर नै अघि बढेको छ । नगर प्रमुख हरिसिंह साउदका अनुसार वडामा लगत सङ्कलनका क्रममा अस्वाभाविक नामावली आएपछि कार्यविधि बनाएर अघि बढ्नुपरेको हो । शुरुआती चरणमा नगरभरिका घरधुरीमध्ये आधा घरदूरीले नै राहत पाउने गरी अस्वाभाविक लगत आएपछि कार्यपालिकाले एउटा कार्यविधि बनाउनुपरेको नगर प्रमुख साउदले बताउनुभयो । प्रमुख साउँदका अनुसार बाह्रै महिना मजदूरी गरेर खाने र असहाय, अपाङ्गता भएका व्यक्तिले राहतस्वरूप खाद्यान्न पाउनेछन् । सोका लागि नगरपालिकाले रु एक करोड विनियोजन गरेको छ ।

नगरपालिकामा रहेका अतिविपन्न परिवारको लगत सङ्कलन गरी राहत वितरणमा लागेको कैलालीको अर्को स्थानीय तह घोडाघोडी नगरपालिकाले पनि आफ्ना विभिन्न वडामा राहत वितरणको कामलाई अघि बढाएको छ । घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीका अनुसार नगरपालिकामा सङ्कलन भएको लगतअनुसार सात सय परिवारलाई खाद्यान्न वितरण गरिनेछ ।

नगरपालिकाले अहिले प्रत्येक परिवारलाई दाल, चामल, पिठो, भटमास, तेललगायत खाद्यान्न सामग्री वितरण गरिरहेको प्रमुख चौधरीले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button