२०७७ साल जेठ १६ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

गौरीफन्टा नाका हुँदै ३८ जना पाल्पा फर्किए, धनगढीमा कोरोना पुष्टि भएपछि जिल्लामा त्रास

बिष्णु खनाल २०७६ चैत २३ गते १६:२०

पाल्पा । भारतको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जिल्लामा त्रास फैलिएको छ ।

उक्त नाका हुँदै पाल्पामा ३८ जना फर्किएका थिए । पूर्वखोला सिलुवाका २१ जना, रामपुरका नौ जना, रिब्दीकोट ख्याहाका दुई र रैनादेवी छहराका छ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । उनीहरू सबै क्वारेन्टाइन्मा बसेको एक साता बितिसकेको छ ।

रामपुरका नौ जनालाई बालकल्याण प्राविको क्वारेन्टाइनस्थलमा राखिएको रामपुरका मेयर रमण थापाले जानकारी दिनुभयो ।

बिदेशबाट रैनादेवी छहरामा आएका नागरिकहरु सुरुदेखि नैे क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो ।

रिब्दीकोट गाउँपालिकाको क्वारेन्टाइनमा रहेका केही नागरिक १४ दिनपछि घरमै फर्किएका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेकोले घर पठाइएको गाउँपालिकाका स्वास्थ्य प्रमुख बिष्णुदेव खनालले जानकारी दिनुभयो ।

त्यस्तै पुर्वखोला गाउँपालिकाका २१ जना गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा रहेको गाउँपालिकाले जनाएको छ ।