तपाईँ सुन्दै हुनुहुन्छः

गुणस्तरहीन सामग्री निर्यात हुन नदिन चीन सरकार प्रतिबद्ध: राजदूत हाउ यान्छी

काठमाण्डौ । चीनबाट नेपालमा आयात गरिएका कोरोना भाइरसको परीक्षण गर्ने उपकरण, मास्क, पिपिई लगायतका स्वास्थ्य सामग्री गुणस्तरीय भएको र यस्तो महामारीको समयमा गुणस्तरहीन सामग्री निर्यात हुन नदिन चीन सरकारले प्रतिबद्धता जनाएको छ ।

रेडियो नेपाललाई हिजो दिनु भएको अन्तर्वार्तामा नेपालका लागि चीनका राजदूत हाउ यान्छीले चीन सरकारले कोरोना भाइरसको महामारी रोक्न चाहिने स्वास्थ्य उपकरणको गुणस्तरलाई उच्चतम प्राथमिकतामा राखेको र गुणस्तरहीन सामग्रीको पहिचान गरी निर्यातमा रोक लागाउने कार्य भइरहेको बताउनुभयो ।
नेपाल सरकारले गत बिहिबार कुटनितिक माध्यमबाट चिनिँया सरकारसँग थप स्वास्थ्य उपकरण तथा सामग्री खरिद गर्न माग गरेको चिनिया राजदूत यान्छीले जानकारी दिनुभयो ।

कोरोना भाइरसको परीक्षण र उपचारका लागि चाहिने सामग्री बोकेर चैत १६ गते बिहान चिनिया जाहाज नेपालमा अवतरण गरेको जानकारी दिनुहुँदै राजदूत यान्छीले परेको खण्डमा नेपाललाई उपकरण, प्राविधिक लगायत जस्तो पनि सहयोग गर्न चिनिया सरकार तयार रहेको बताउनुभयो ।
राजदूत यान्छीले दक्षिण एसियामा कोरोना भाइरसको महामारी फैलनबाट रोक्न सार्क राष्ट्रहरुसँग निरन्तर सहकार्य भइरहेको जानकारी पनि दिनुभयो ।
यस्तो बिषम परिस्थितिमा चिनिया सरकारले दिने सहयोगमा कुनै प्रकारको राजनैतिक दाउपेच नरहेको बताउनु हँुदै राजदूत हाउ यान्छीले केही पश्चिमा राष्ट्रहरुले सहयोगलाई राजनैतिक प्रोपोगान्डा देख्नु दुखद् भएको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button