तपाईँ सुन्दै हुनुहुन्छः

झापामा आइसोलेसनमा रहेका सातैजनाको रिपोर्ट नेगेटिभ

भद्रपुर, झापा । कोरोना भाइरस(कोभिड–१९) संक्रमणको आशङ्कामा झापाको सदरमुकाम भद्रपुरमा रहेको मेची अस्पतालमा आइसोलेसन वार्डमा भर्ना भएका सबै बिरामीको स्वाब परीक्ष्ण रिपोर्ट नेगेटिभ आएको छ ।

हालसम्म मेची अस्पतालको आइसोलेसनमा सात जना भर्ना भएका थिए ।

सातैजनाको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरले जानकारी दिनुभयो ।

धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको पछिल्लो दुई जनाको रिपोर्ट हिजो बेलुका आएसँगै सबैजनाको रिपोर्ट नेगेटिभ भएको डा. ठाकुरले बताउनुभयो ।

सबैको रिपोर्ट नेगेटिभ आएसँगै झापा जिल्ला हालसम्म कोरोनाको जोखिममा नरहेको पाइएको छ ।

मेची अस्पतालको आइसोलेसनमा अहिलेसम्म भद्रपुरका कर्णबहादुर विक, सीताराम पाठक, लीला पाठक, गौरादहका रीतबहादुर बस्नेत, झापा गाउँपालिकाका प्रवेज आलम, कमल गाउँपालिकाका आकाश उराउ र वासु श्रेष्ठ रहेकोमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो ।

अब मेची अस्पतालको आइसोलेसनमा नयाँ बिरामी नरहेको अस्पतालले जनाएको छ ।

यसैबीच, झापामा कोरोना परीक्षण ल्याव सञ्चालनको तयारी गरिएको छ । झापाको दमकस्थित भूटानी शरणार्थी तेस्रो देश पुनस्थार्पना गर्दा आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठन आईओएमको प्रयोगशाला प्रयोग गर्न सकिने गरी दमक नगरपालिकाले चासो दिएपछि आईओएमको कार्यालयले माथिल्लो निकायसँग अनुमति मागेको दमक नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button