तपाईँ सुन्दै हुनुहुन्छः

बन्दाबन्दीमा छाडा गाई बाच्छा संरक्षण गरिँदै

काठमाडौँ-कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला उपत्यकामा छाडा छोडिएका गाई बाच्छालाई आश्रय दिने अभियान शुरु भएको छ । पशुपति क्षेत्र विकास कोष, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी कुनामा रहेको कागेश्वरी मनोहरा नगरापालिका–८ स्थित गोठाटारको वाग्मती किनारको चौरमा संरक्षित गाई बाच्छा संरक्षण अभियानलगायत संस्थाको सहकार्यमा गाई बाच्छा संरक्षण अभियान शुरु भएको हो ।

चैत २६ गतेदेखि शुरु भएको उपत्यकाका सडकमा छोडिएका गाई बाच्छा संरक्षण अभियानका क्रममा ७२ वटा गाईको उद्धार गरी संरक्षण गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । संरक्षण स्थलमा पहिले नै ७० वटा गाई बाच्छा थिए ।

उपत्यकाकै नगर क्षेत्रमा पालिएका गाई फार्ममा गाईको बाच्छा जन्मिए केही दिनमा पशुपति वरपरको क्षेत्रमा लगी छोड्नेको सङ्ख्या बढ्न थालेको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो । बाच्छी जन्मिए राख्ने बाच्छा जन्मिए केही महिनामै पशुपति एवं वाग्मती किनारमा छोडिन्छन् । यसबाट सडक दुर्घटनाका समस्यासमेत बढ्ने गरेको छ ।

संविधानमा गाईलाई राष्ट्रिय जनावरका रूपमा उल्लेख गरिएको छ । वैदिक सनातन हिन्दू धर्मअनुसार गाईलाई गौमाताका रूपमा पुजिन्छ । शास्त्रीयरूपमा गरिने प्रत्येक शुभकर्ममा गाईदानका महत्वसमेत उल्लेख गरिएको छ । गाईको यही महत्वका कारण कोष र अभियानलगायत संस्थाको सहकार्यमा छाडा छोडी सडकमा अलपत्र गाई बाच्छा उद्धार अभियान शुरु भएको हो । बन्दाबन्दी सकिएपछि यहाँ जम्मा भएका गाई बाच्छालाई गोठाटारिस्थत कोषको जग्गामा व्यवस्थित गरिने मौखिक सहमतिसमेत भएको छ ।

उपत्यकाका सबै नगरपालिकाका प्रमुखसँग पनि बन्दाबन्दी सकिएपछि छलफल गरेर छाडा गाई बाच्छा व्यवस्थित गर्न दबाब दिइने तयारी भइरहेको छ । स्थानीय तहले आफ्नो क्षेत्रका गाई बाच्छा दर्ता गर्ने व्यवस्था गरेर छाडा छोडेको पाएमा सेवा सुविधा कटौती गर्नुपर्ने माग अभियानकर्मीले गरेका छन् । बन्दाबन्दीमा सडकमा छोडिएका छाडा गाई बाच्छाले खान नपाएका कारण पनि यस्तो अभियान शुरु गरिएको हो । गत वर्ष जेठ १ गतेदेखि यहाँ गाई बाच्छा संरक्षण अभियान शुरु गरिएको हो । अभियानमा हाल आधा दर्जन अभियानकर्मी स्वयंसेवीरूपमा खट्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button