तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनमा तस्करी बढ्यो

भीमदत्तनगर,-कोरोना भारइस नियन्त्रणका लागि मुलुकभर लकडाउन भइरहँदा कञ्चनपुरमा भने वन्यजन्तु तथा काठ तस्कर गर्ने गिरोह सक्रिय बनेको छ । यहाँका निकुञ्ज तथा राष्ट्रिय वनमा लकडाउनको समयमा काठ तस्करीमा संलग्न व्यक्तिलाई काठसहित धमाधम पक्राउ गर्न थालिएको छ । यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाल सेनाले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सालका काठ काटिरहेको अवस्थामा तस्करीमा संलग्न गिरोहलाई यहाँको विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।

निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको देवीदल गण मझगाउँ ब्यारेकले दुई सातामा १०३ भन्दा बढीलाई नियन्त्रणमा लिई कारवाहीका लागि शुक्लाफाँटा निकुञ्जको कार्यालय पठाएको छ । तीन दिनअघि शुक्रबार अवैधरूपमा निकुञ्जभित्र प्रवेश गरेर अवैधरूपमा सालको रुख काट्ने चार जनालाई नियन्त्रणमा लिइएको देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यातले जानकारी दिनुभयो ।

उहाँले निकुञ्जको मध्यवर्ती क्षेत्रमा इँटाभट्टामा धानको भुसभित्र लुकाएर राखेको अवस्थामा अर्जुनी ब्यारेकले ४२३ घनफिट काठ बरामद गरेको छ । त्यसैगरी निकुञ्जभित्र विभिन्न ठाउँमा वन्यजन्तु शिकार गर्न थापेका पासोसमेत थापेको भेटिएको सेनाले जनाएको छ । गणपति बस्न्यातले सेनाले निकुञ्ज र आसपासका क्षेत्रमा गस्ती तथा सुरक्षा सतर्कता बढाएको जानकारी दिनुभयो ।

लकडाउनको अवस्थामा निकुञ्जभित्र अवैधरूपमा प्रवेश गरी काठ तस्करी, माछा मार्ने, शिकार गर्ने कार्य बढेपछि निकुञ्जको सुरक्षामा चुनौती थपिएको निकुञ्ज प्रशासनले जनाएको छ । यता डिभिजन वन कार्यालय कञ्चनपुरले लकडाउनको अवधिमा काठ तस्कर सल्बलाएको जनाएको छ । डिभिजन वन कार्यालयले यहाँको पुनर्वास नगरपालिकाको जनजागरण सामुदायिक वनबाट ३६ घनफिट काठ बरामद गरेको छ ।

त्यस्तै लालझाडी गाउँपालिकाबाट अवैधरूपमा काठ तस्कर गर्ने मोटरसाइकलसहित दुईलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयका सूचना अधिकृत शिवराज अवस्थीले जानकारी दिनुभयो । तस्कर सक्रिय भएपछि वन कर्मचारीले प्रहरीसँगको समन्वयमा सुरक्षा २४सै घण्टा गस्ती गरिरहेको अवस्थीले बताउनुभयो । वृद्धा बिरामीलाई सेनाद्वारा रक्तदान कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको लकडाउनमा वृद्धा आमा ६२ वर्षीया कलशा भाट बिरामीले थला परेपछि कञ्चनपुरको भीमदत्तनगरपालिका–९ ब्रह्मदेवका गणेश भाट तनावमा हुनुहुन्थ्यो ।

विभिन्न उपाय गरेर चार दिनअघि भीमदत्तनगरस्थित महाकाली अस्पतालमा आमाको उपचारमा रहेका भाटलाई चिकित्सकले आइतबार रगत आवश्यक पर्ने भनेपछि भाटलाई समस्या झन बल्झियो ।

भीमदत्तनगरस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकमा कार्यरत सेनानी गणेश महराले रक्तदान गरेर वृद्धाको ज्यान जोगाउनुभएको हो । “यो मेरो नवौँ पटक गरेको रक्तदान हो”, सेनानी महराले भन्नुभयो, “ब्यारेकमा रगतका लागि बिरामीका आफन्त आइरहेकै हुन्छन् ।” नेपाल रेडक्रस सोसाइटी भीमदत्तनगरले रगत अभाव हुँदा बिरामी लामो समयदेखि सेनाको भरमा पर्दै आएको जनाएको छ । “सेनाले विभिन्न ठाउँमा रगत दिएर अकालमै मृत्यु हुनबाट धेरैको ज्यान जोगाएको छ”, महराले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button