तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना त्रास : भीडभाडमा सिरुवा नमनाउन अपिल

फाइल तस्बिर

भद्रपुर, झापा । नयाँ वर्ष प्रारम्भसँगै राजवंशीलगायतका आदिवासी समुदायले मनाउने सिरुवा पर्व यस वर्ष सार्वजनिक रुपमा झापामा नमनाइने भएको छ ।

सो समुदायले सामुहिक रुपमा वैशाख १ गते पानी सिरुवा, २ गते काद सिरुवा र ३ गते रङ्ग सिरुवा मनाउने परम्परागत छ ।

तर, विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी अनिवार्य भएकोले यसबर्ष सामुहिक तथा सार्वजनिक रुपमा सिरुवा पर्व नमनाउन जिल्ला राजवंशी विकास प्रतिष्ठान झापाले आफ्नो समुदायसँग अपिल गरेको छ । प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेको हो ।

पूर्वी नेपालको झापा, मोरङ र सुनसरी जिल्लाका राजवंशी, ताजपुरिया, गनगाई, धिमाल, माझी, चौधरीलगायतका समुदायले सिरुवा पर्व मनाउँदै आएका छन् ।

प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीले सिरुवा आदिवासी समुदायको महान् चाड भए पनि यस वर्ष कोरोनाको सन्त्रासका बीच हर्षोल्लासका साथ मनाउने अवस्था नरहेकोले सामूहिक रूपमा सिरुवा नखेल्न र सांस्कृतिक कार्यक्रमसमेत आयोजना नगर्न आग्रह गरिएको बताउनुभयो ।

यस्तै, नयाँ वर्ष तथा सिरुवाकै अवसरमा झापा र मोरङका विभिन्न स्थानमा लाग्दै आएका ऐतिहासिक सिरुवा मेलाहरू यस वर्ष स्थगित गरिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button