तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा कोरोनाको संक्रमित फेला परेपछि प्रदेश २मा लकडाउनमा कडाई, वोर्डरमा थप सुरक्षा सतर्कता

जनकपुरधाम । प्रदेश नंं २ को बीरगञ्जमा तीन जना कोरोनाको संक्रमित भारतीय विरामी फेला परेपछि लकडाउनको अवस्थामा निक्कै कडाई गरिएको छ ।

प्रदेश नंं २ को राजधानी जनकपुरधामसहित सबै जिल्लाहरुमा आज बिहानदेखि सुरक्षा व्यवस्था अझै कडा बनाइएको प्रदेश नंं २ को आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।

नयाँ वर्ष भएपनि आज बिहानदेखि सबै जिल्लाको सदरमुकामसहित गाउँका बजारहरु सुनसान रहेका छन् । सर्वसाधारणहरुमा पनि कोरोनाको डर अत्यधिक मात्रामा भएको र हिजोको घटनापछि सचेत बढी भएपछि बाहिर निष्कन बन्द गरेपछि बजार क्षेत्र सुनसान बनेको छ ।

नेपाल प्रहरी तथा शसस्त्र प्रहरीले आफ्नो सक्रियता बढाएको छ । मोटरसाइकल तथा अन्य सवारी साधनको सञ्चालनमा कडाई गरिएके छ ।

नेपाल –भारतको सीमा क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा बनाइएको छ । वोर्डरहरु पूर्णरुपमा शील भएपनि लुकीछिपी भारतबाट नआओस् भन्नका लागि सीमाना क्षेत्रमा चारै सुरक्षा अंगलाई पूर्ण सतर्कतासहित परिचालन गरिएको छ ।

वीरगञ्जको घटनापछि नेपाल भारतको सीमाना क्षेत्रमा पहिला भन्दा बढी सुरक्षा कर्मीहरु परिचालन गरिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताउनुभयो ।

यसैगरी आम व्यक्तिमा पनि कोरोना प्रति चेतना बढेका कारणले आफै वोर्डरमा निगरानी बढाएका छन् । नयाँ व्यक्तिलाई नेपाल छिर्नमा रोक लगाउने कार्य आम नागरिकबाट पनि हुन थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button