तपाईँ सुन्दै हुनुहुन्छः

निजगढमा नगर बाहिरबाट हुने सामाग्री आयातमा रोक

बारा । छिमेकी जिल्ला पर्सा र रौतहटमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि निजगढ नगरपालिकाले उच्च सतर्कता बढाएको छ ।

कोरोना भाइरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन समिति निजगढका संयोजक मेयर सुरेश कुमार खनालको सभापतित्वमा मंगलबार सम्पन्न बैठकले नगर बाहिरबाट आयात हुने खाध्यान्न, तरकारी, माछामासु तथा अन्य सामाग्रीमा बन्देज लगाउने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमित क्षेत्र भारत, बिरगंज लगायत अन्य क्षेत्रबाट निजगढ भित्र खाध्यान्न, तरकारी, माछामासु तथा अन्य सामाग्रीहरु आयात हुने भएकाले कोरोना भाइरस भित्रिने सम्भावना औल्याउँदै तत्कालका लागि आयातमा प्रतिबन्ध लगाएको निजगढका मेयर खनालले बताउनुभयो ।

नगर भित्र आवश्यक खाध्यान्न नगर भित्रबाटै परिपूर्ति गर्नेगरि नगरपालिकाले कृषकहरुलाई आवश्यक सहयोग गर्नेछ । निजगढ कृषि क्षेत्र भएकाले यसको लागि खासै समस्या सृजना नहुने समितिका सदस्य रवी कुमार बर्तौलाले बताउनुभयो ।

यसैगरी नगर भित्र दुई जनाभन्दा बढी व्यक्ति जम्मा हुन नदिने समेत बैठकले निर्णय गरेको छ । अत्यावश्यक काम बाहेक दुई जनाभन्दा बढी मानिसहरु एकै ठाउमा भेला हुन नदिने बैठकले निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button