तपाईँ सुन्दै हुनुहुन्छः

परम्परागत उपचार विधिले झण्डै हात गुमेन

दोलखा । लकडाउनका कारण स्वास्थ्य केन्द्रसम्म जान नसकेपछि परम्परागत उपचार विधि अपनाउदा दोलखा सुनखानीका एक बालकले झण्डै हातनै गुमाउनु परेको ।

घटना ०७६ चैत्र ३० गतेको हो । दोलखाकालिञ्चोक गाँउपालिका वडा नम्बर–७ सुनखानी झर्मासीका ८ बर्षिय बालक सुशन शिवाकोटी आमा कविता शिवाकोटीसँग मामाघर गौरीशङ्कर गाँउपालिकाको झ्याकु गएका थिए । मामा घरमा बल खेल्ने क्रममा लडेर सुशनको हात मर्कीयो । तर लकडाउनले सवारी साधन नचलेको र हिडाएर लान सम्भव नभएकोले उपचारको लागि तत्काल स्वास्थ्य केन्द्र पुर्याउन नसकिने अवस्था भएपछि बालकको मावलीका जिजुबाले परम्परागत विधिबाट सिस्नु राखेर काम्लोले बाँधेर उपचार गरिदिएका थिए ।

बालकका बुबा सुन्दर शिवाकोटी छोराको हात मर्कीए पनि लकडाउनका कारण तत्काल स्वास्थ्य केन्द्रमा उपचारको लागि लान नसकेकोले गाँउमै परम्परागत उपचार गरेको तर त्यसले समस्या बढेपछि मंगलवार(चैत्र २ गते) मोटरसाइकल खोजेर सदरमुकाम चरिकोटमा उपचारको लागि ल्याएको बताउनुहुन्छ ।

छोराको हात मर्कीएपछि तत्काल स्वास्थ्य केन्द्र पठाउन नसकेकोले बाजे ससुराले परम्परागत विधिबाट सिस्नु राखेर काम्लो बाँधिदिएको रहेछन्, । त्यसरी काम्लो बाँध्दाफोकाहरु आएको सुनेपछि मैले तत्काल मोटरसाइकल खोजेर लिन गई सदरमुकाम चरिकोट ल्याएर उपचार गराउदै छु – सुन्दरले भन्नुभयो ।

परम्परागत विधिबाट काम्लो बाँधेर उपचार गरेर समस्या भएपछि उपचारको लागि ल्याएको बालकको अहिले उपचार सुरु भएको प्रस्तावित चरिकोट अस्पतालका डा.तुला गुप्ताले बताउनुभयो ।

लकडाउनले बाँध्यभएर हो या अन्धविश्वासका कारण हो गाँउमै काम्लो बाँधेर उपचार गरेको रहेछ डाक्टर गुप्ताले भन्नुभयो – उपचारको लागि अस्पताल ढिला ल्याएको भए हात नै काट्नु पर्ने हुन सक्थ्यो तर समयमै ल्याएकोले राम्रैसँग उपचार सुरु भएको छ ।

प्रस्तावित चरिकोट अस्पतालको व्यवस्थापन हेरिरहेको न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डा.बिनोद दंगाल मर्कीएको हातमा कसेर काम्लो बाँधेकोले हातमा रगत सञ्चालन नभएकोले समस्या भएको बताउनुहुन्छ । आठ घण्टाभन्दा बढी समय हात कसिएर बाँधिएकोले कम्पार्टमेन्ट सिम्डोम भएको र त्यसले हातमा फोका बनेर समस्या बनेको डा.दंगाल बताउनुहुन्छ ।

अहिले औषधि चलाइरहेका छौँ डाक्टर दंगालले भन्नुभयो,–७२ घण्टासम्ममा पनि सुधार भएन भने सल्यक्रिया गर्नुपर्ने हुन्छ । तर अहिले निक्कै सुधार भइरहेकोले चाँडै ठिक हुने विश्वास लिएका छौँ – डा. दंगालले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button